राष्ट्रपतिको आलोचना गर्ने व्यवसायीलाई १८ वर्ष जेल
काठमाडौं। राष्ट्रपति शी जिनपिङको आलोचना गरेका चीनका एक ठूला व्यवसायीलाई १८ वर्ष जेल सजाय सुनाइएको छ । चीन सरकारको तर्फबाट दायर भ्रष्टाचार सम्बन्धी मुद्दामा बेइजिङको एक अदालतले त्यहाँका एक ठूला व्यवसायी रेन झिकियांगलाई १८ वर्षको जेल सजाय सुनाएको हो । चीनका बरिष्ठ अधिकारीहरुसँग घनिष्ठ सम्बन्ध भएका झिकियाङले कथित रुपमा गत मार्चमा राष्ट्रपति शी जिनपिङको आलोचना गरेका थिए ।
झिकियाङले कोरोनाभाइरससँग जुध्ने सम्बनधमा असफल भएको भन्दै राष्ट्रपति जिनपिङको आलोचना गरेको बताइएको छ । यसको केही समयपछि चीन सरकारले उनीमाथि भ्रष्टाचारको अभियोग लगायो । यही अभियोगका विषयमा मंगलबार चीनको बेइजिङस्थित एक अदालतमा सुनुवाइ भयो र अदालतले ती अर्बपतिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १८ वर्षको जेल सजाय सुनाएको हो ।
मंगलबार अदालतले रेनलाई लगाइएका आरोपहरुमा दोषी ठहर गर्यो । उनले सार्वजनिक कोषबाट १६.३ मिलियन डलर (११०.६ मिलियन युआन) रकम हिनामिना गरेको, भ्रष्टाचार गरेको र सत्ताको दुरुपयोग गरेको अदालतले ठहर गरेको छ । उनको यो अपराधले चीन सरकारलाई १७.२ मिलियन डलर (११६.७ मिलियन युआन) नोक्सानी भएको ठहर गर्दै उनलाई जेल र जरिवानाको सजाय सुनाइएको हो ।
उनलाई ६ लाख २० हजार डलर (४.२ मिलियन युआन) जरिवानाको सजाय पनि सुनाइएको छ । अदालतका अनुसार रेनले स्वेच्छाले आफ्ना सबै अपराध स्वीकार गरेका हुन् । अदालतको कुनै पनि फैसला स्वीकार गर्न उनी तयार रहेको पनि अदालतको बयानमा भनिएको छ । कानुनी पर्यवेक्षकका अनुसार चीनको अदालती प्रक्रियामा सरकारको तर्फबाट आरोप लागेकाले दोषी ठहर भएर सजाय पाउने दर ९९ प्रतिशत छ ।
चीनमा सत्ताको विपक्षमा जानेहरुका लागि चीनको कम्युनिष्ट पार्टीको तर्फबाट भ्रष्टाचारको अभियोग लगाइन्छ । रेनमाथिको यो सजाय पनि देशका ठूला मानिसहरुलाई राष्ट्रपतिको सार्वजनिक आलोचना वा अवहेलना स्वीकार्य हुँदैन भन्ने सन्देश दिनको लागि दिइएको विश्वस गरिएको छ । अहिले चीनले कोरोनाभाइरससँग जुध्न प्रयास गरिरहेको छ र अमेरिकाको तर्फबाट दबाबको सामना पनि गरिरहेको छ ।







डिसी नेपाल








Facebook Comment