पूर्व राष्ट्रिय खेलाडी पुष्प थापा भन्छनः प्रदेश कोचमा छनौट नभए क्रिकेट नै परित्याग गर्छु

डिसी नेपाल
११ असोज २०७७ १५:५०
4
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केही समय अगाडि सातै प्रदेशको लागि ७ जना प्रशिक्षकको दरखास्त आह्वान गरेको थियो । प्रदेश प्रशिक्षकको लागि प्रदेश नम्बर एकबाट पनि विभिन्न खेलाडीहरुले आवेदन दिएका छन् । ती नामहरुमध्ये एक हो पुष्प थापा । यो नाम मोरङमा र पूर्वाञ्चलमा धेरै पहिलेबाट सुनिदै आएको नाम हो । र, अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००८ बाट यो नाम सुनिन थाल्यो । केही समयपछि यो नाम राष्ट्रिय टोलीमा पर्न छाड्यो तर विभिन्न समयमा घरेलु क्रिकेटहरुमा भने यो नाम निरन्तर सुनिइरह्यो । पछिल्लो १–२ वर्ष भने यो नाम गुमनाम जस्तै रहेको छ ।

अहिले फेरि यो नामले समाजिक संजालमा चर्चा पाएको छ । कारण हो क्रिकेटमा २० बर्षदेखि होमिएका, २००८ को यू–१९ विश्वकपमा मा जिम्बाबे बिरुद्वको खेल जिताउन उत्कृष्ट ब्याटिङ गरेका, मोरङ र पूर्वाञ्चलका लागि करिब १० बर्षसम्म कप्तानको भूमिका निर्वाह गरेका पुष्प थापाको आर्थिक अवस्था । शनिबार सुनसरी जिल्ला क्रिकेट संघका सदस्य तथा कार्य सम्पादन संयोजक विप्लव घोष र क्रिकेट अभियन्ता विज्ञान कार्की विराटनगर स्थित पुष्प थापाको निजी निवासमा पुग्दा त्यहाँको दृश्यले उनीहरुको आँखा रसायो ।

 

नेपालका लागि विश्वकप खेलेका, १० बर्षसम्म मोरङ जिल्ला र पूर्वाञ्चलको कप्तानी गरेका पुष्प थापाको आर्थिक अवस्था साह्रै कमजोर छ । दिनरात क्रिकेट भनेर हिँड्ने एक खेलाडीलाई राष्ट्र र यो समाजले नाम त दियो तर समय परिवर्तन भएसँगै यो नाम गुमनाम पनि भयो । जुन टिनको छानोबाट यी क्रिकेटरले आफ्नो करिअरको सुरुवात गरे आज त्यही टिनको छानोभित्र उनको क्रिकेट करिअरको जीवनको उतराद्र्ध बित्दैछ । स्कुलमा र इन्टरकलेज प्रतियोगितामा केही कलेजका खेलाडीहरुलाई प्रशिक्षण दिएर आफ्नो जीविकोपार्जन गरिरहेका यी खेलाडीको लकडाउनका कारण खेल गतिविधि शून्य हुँदा आर्थिक अवस्था नाजुक भएको छ ।

आमा, श्रीमती र १५ महिने छोराको गास, बास र कपासको लागि आज यी खेलाडीले एउटा कठोर निर्णय लिन बाध्य भएका छन् । उनले यो निर्णय आफूले नचाहँदा नचाहँदै आफ्नो अवस्थाका कारण लिनुपरेको बताउँछन् । उनले अब आफ्नो खेल जीवनको एउटा इनिङ सकाएर अर्को इनिङको सुरुवात गर्न चाहन्छन् । आफ्नो खेलाडी जीवनलाई बिट मार्दै अब आफूलाई एक कुशल प्रशिक्षकको रुपमा स्थापित गर्न चाहन्छन् ।

उनी भन्छन् “यतिका बर्ष क्रिकेटमा बिताएँ, आफ्नो क्षमताले भ्याउन्जेलसम्म खेलें, अहिले क्यानको प्रादेशिक प्रशिक्षकको लागि आवेदन दिएको छु । हामीजस्ता न्यून आय भएका खेलाडीहरुलाई क्यानले अवसर दिनेछ भन्ने आशामा छु । म मेरो सम्पूर्ण जीवन क्रिकेटमै बिताउन चाहन्छु । खेलाडी भएर राष्ट्रको लागि योगदान दिएँ अब प्रशिक्षक भएर पुनः नेपाली क्रिकेटको लागि योगदान दिने चाहना छ ।”

खेलाडी जीवनमा आफूभित्र प्रतिभा रहँदा रहँदै पनि कहिले नेपाली क्रिकेट भित्रको राजनैतिक द्वन्द्व तथा नेपाली क्रिकेटभित्र रहेको नाताबाद र कृपावादको शिकार भएको बताउने पुष्प थापाले अब नेपाली क्रिकेटले उनलाई प्रशिक्षकको रुपमा समेत स्वीकार नगरे अर्थात प्रदेश कोचमा छनौट नभए किक्रट नै परित्याग गर्ने डिसी नेपाललाई बताए ।

जुन समयमा पुष्पले आफ्नो क्रिकेट करिअरको सुरुवात गरे वास्तबमा त्यो समयमा नेपाली क्रिकेटमा भविष्य थिएन । तर अहिले त्यो अवस्था परिवर्तन भएको छ । लामो समयपछि क्यान फेरि आएको छ, र क्यानको दायित्व भनेको क्रिकेटको विकास संगसंगै क्रिकेटका लागि आफ्नो जीवन नै परित्याग गरेका खेलाडीहरुलाई संरक्षण गर्नु । क्रिकेटमा जीवन ब्यतित गरेका खेलाडी तथा ब्यक्तिहरुलाई क्यानले उनीहरुको क्षमता अनुसार ब्यवस्थित गर्न सकेमा आज पुष्प थापा जस्ता खेलाडीहरु जुन किसिमका आर्थिक अवस्थाबाट गुज्रिरहेका छन त्यो दिन नेपाली क्रिकेटमा आउदैन भन्ने सम्पूर्ण खेलाडी तथा क्रिकेट प्रेमीहरुको बुझाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.