आइपिएलः यो सिजनका ९ खेलमा बने १४ ठूला रेकर्ड, ५ रेकर्ड हिजोको एउटै खेलमा बने
काठमाडौं। विश्वकै ठूलो टि–२० लिग इण्डियन प्रिमियर लिग (आइपिएलको) जारी सिजनका सुरुवाती ९ खेलमा १४ रेकर्ड बनेका छन् । यीमध्ये ५ वटा रेकर्ड त हिजो भएको किंग्स ११ पंजाब र राजस्थान रोयल्सबीचको खेलमा मात्र बने । यो खेलमा राजस्थान रोयल्सले किंग्स ११ पंजाबविरुद्ध रन चेज गर्ने क्रममा अन्तिम ५ ओभरमा ८६ रन बनायो ।
अन्तिम ५ ओभरमा बनेको सो सबैभन्दा धेरै रन हो । यसअघि २०१२ मा चेन्नइ सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध अन्तिम ५ ओभरमा ७७ रन बनाएको थियो । त्यसमाथि लक्ष्य पूरा भइसकेकोले राजस्थानले अन्तिमका ३ बल खेल्नै परेन । यदि यी बल पनि खेलिएका भए अझै धेरै रन बन्ने सम्भावना थियो ।
यो सिजनको पहिलो खेलमा चेन्नइ सुपरकिंग्सले मुम्बइ इण्डियन्सलाई पराजित गर्दा चेन्नइका कप्तान महेन्द्र सिंहले कप्तानको रुपमा १०० औं खेल जिते । सय आइपिएल खेल जित्ने एक्लो कप्तानको रुपमा धोनीले नयाँ रेकर्ड बनाए । यस्तै संजु सामसनले एक खेलमा ७० भन्दा धेरै रन बनाउने र ४ ब्याट्सम्यानलाई आउट गराउने एकमात्र विकेटकिपर ब्याट्सम्यानको रेकर्ड बनाए । चेन्नइ सुपरकिंग्सविरुद्धको खेलमा उनले ७४ रन बनाए र फाफ डुप्लेसी र केदार जाधवको क्याच तथा साम करेन र रितुराज गायकजाडलाई स्टम्पिङ आउट बनाए ।
१३ औं सिजनको ९ औं खेलमा राजस्थान रोयल्सले किंग्स ११ पंजाबविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य चेज गर्यो । २२४ रनको लक्ष्य सफलतापूर्वक चेज गर्दै उसले आइपिएल पहिलो सिजनमा आफैले बनाएको रेकर्ड तोड्यो । अहिलेसम्म आइपिएल २००८ मा राजस्थान रोयल्सले डेक्कन चार्जर्सविरुद्ध ११५ रनको सफल चेज गरेको रेकर्ड नै सर्वाधिक चेजको रेकर्ड थियो । किंग्स ११ पंजाबका ब्याट्सम्यानले यो सिजनमा लगातार २ खेलमा शतक बनाए । २०१४ मा पनि पंजाबका ब्याट्सम्यानले लगातार २ खेलमा शतक बनाएका थिए । यससँगै २ सिजनमा लगातार २ खेलमा शतक बनाउने पंजाब एकमात्र टिम बनेको छ ।
पंजाबका कप्तान लोकेश राहुल र मयंक अग्रवालले पहिलो विकेटको लागि १८३ रनको साझेदारी गरे । ओपनिङको रुपमा यो तेस्रो ठूलो साझेदारी हो । सबैभन्दा ठूलो साझेदारी २०१९ मा हैदराबादका कप्तान डेभिड वार्नर र जोनी बेयरिस्टोले बैंगलोरविरुद्ध १८५ रन बनाएका थिए । राजस्थानविरुद्ध पंजाबले १३ औं शतक बनायो । यससँगै पंजाबले सबैभन्दा धेरै शतक बनाउने टिमको रुपमा बैंगलोरसँग बराबरी गरेको छ ।
यो सिजनको चौथो खेलमा छक्काको वर्षा भयो । चेन्नइ र राजस्थानबीचको यो खेलमा रेकर्ड ३३ छक्का प्रहार भए । आइपिएलमा यस्तो दोस्रो पटक भएको छ । यसअघि २०१८ मा बैंगलोर र चेन्नइबीचको खेलमा पनि ३३ छक्का प्रहार भएका थिए । मुम्बइ इण्डियन्सका कप्तानले २०० छक्का पूरा गर्दै आइपिएलमा २०० छक्का प्रहार गर्ने दोसे भारतीय र सबै खेलाडीमा चौथो खेलाडी बने ।
चेन्नइ सुपरकिंग्सका लेग स्पिनर पियुष चावलाको नाममा आइपिएलमा लज्जास्पद रेकर्ड बन्यो । राजस्थान रोयल्सविरुद्ध ६ छक्का खाएसँगै उनी आइपिएलमा सबैभन्दा धेरै छक्का खाने बलर बने । आइपिएलमा उनको बलमा अहिलेसम्म १७६ छक्का प्रहार भएका छन् । रोहित शर्मा कुनै एक टिमविरुद्ध सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले बुधबार अबु धाबीमा कोलकाता नाइट राइडर्सविरुद्ध ८० रन बनाउँदै उक्त टिमविरुद्ध ९०४ रन पूरा गरे । यसका लागि रोहितले २६ खेल खेलेका छन् ।
किंग्स ११ पंजाबका लोकेश राहुल आइपिएलमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाउने भारतीय बनेका छन् । उनले बैंगलोरविरुद्ध १३२ रन बनाए । यसअघि ऋषभ पन्तले १२८ रन बनाएका थिए । बैंगलोरले यो सिजनको पहिलो खेलमा हैदराबादलाई हरायो । यससँगै विराट कोहली आइपिएलमा टिमलाई ५० खेल जिताउने चौथो कप्तान बने । यसअघि महेन्द्रसिंह धोनीले चेन्नइ, गौतम गम्भीरले कोलकाता र रोहित शर्माले मुम्बइलाई ५० भन्दा धेरै खेल जिताइसकेका छन् । मुम्बइका हार्दिक पंड्या आइपिएलमा हिट विकेट आउट हुने ११ औं खेलाडी बने ।







डिसी नेपाल








Facebook Comment