भारतमा आदिवासीको अधिकारका लागि लड्ने ८३ वर्षे वृद्धलाई आतंकवादी भनेर जेल हालियो
काठमाडौं। भारतमा आतंकवादको आरोप लागेर पक्राउ परेका क्रिस्चियन पादरी फादर सतन स्वामीलाई अदालतले अक्टोबर २३ सम्मको लागि न्यायिक हिरासतमा पठाएको छ । झारखण्ड राज्यको राँचीमा बस्दै आएका ८३ वर्षका स्वामी पादरी र अभियन्ताको रुपमा परिचित थिए । भारतले नेशनल इन्भेष्टिगेसन एजेन्सी (एनआइए)ले उनलाई बिहीबार राँचीबाटै हिरासतमा लिएको थियो । हिरासतमा लिएपछि मुम्बइको अदालतमा उपस्थित गराएर अनुसन्धानको लागि न्यायिक हिरासतमा राखिएका स्वामी भारतमा आतंकवादको आरोप लाग्ने सबैभन्दा वृद्ध व्यक्ति भएको बीबीसीका संवाददाता सौतिक विश्वासको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार एनआइएले उनलाई २०१८ मा भएको जातीय दंगा र माओवादीहरुसँग सम्बन्ध भएको आरोपमा पक्राउ गरेको हो । माओवादी भारतका पूर्वी र मध्य राज्यहरुमा सक्रिय विद्रोही राजनैतिक समूह हो । उनी पक्राउ पर्नुभन्दा केही दिनअघि रेकर्ड गरिएको एक भिडियोमा फादर स्वामीले जुलाइमा आफूसँग ५ दिनको अवधिमा १५ घण्टासम्म सोधपुछ गरिएको बताएका छन् । उनले एजेन्टहरुले आफ्नो कम्प्युटरबाट केही अंशहरु नियतवश निकालेर आफ्नो सम्बन्ध माओवादीसँग भएको प्रमाणित गर्ने प्रयास गरेको आरोप लगाएका छन् । उनले कम्प्युटरमा भेटिएका सामग्रीहरु आफ्नो नभएको दावी गर्दै आफूलाई फसाउन गुपचुप रुपमा आफ्नो कम्प्युटरमा राखिएको दावी गरेका छन् ।
जून २०१८ देखि अहिलेसम्म नरेन्द्र मोदीको बीजेपी सरकारले २०१८ मा महाराष्ट्रको भीम कोरेगांवमा भएको हिंसामा संलग्न भएको अभियोगमा १६ जनालाई जेलमा हालिसकेको छ । यसरी जेलमा पर्नेहरुमा भारतका प्रतिष्ठित विद्वानहरु, वकिलहरु, शिक्षाविदहरु, सांस्कृतिक अभियन्ता र एकजना कवि पनि छन् । ती कवि पछि जेलमा कोरोना संक्रमित भएका थिए । यी सबैले पटक पटक जमानतको लागि निवेदन दिए पनि हरेक पटक एउटा आतंकवादविरोधी कानुनमा टेकेर निवेदन अस्वीकृत भएको छ । अहिले कैयौं पर्यवेक्षकहरुले यो कानुन भाजपा सरकारले आफूसँग असहमत हुनेहरुलाई समाप्त पार्न प्रयोग गरिरहेको विश्वास गर्छन् ।
‘यो अत्यन्तै भयावह छ । भारतमा मानवअधिकार रक्षकहरुमाथि यति चरम दमन कहिल्यै भएको थिएन’ युनिभर्सिटी अफ मासाचुसेट्समा सार्वजनिक नीतिको प्राध्यापक संगीता कामतले भनिन् । कामतका अनुसार यो स्थिति १९७५ को स्थितिसँग मिल्दोजुल्दो छ जतिबेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले इमरजेन्सी लगाएर नागरिक अधिकारमाथि बन्देज लगाउँदै सेन्सरसिप लागू गराएकी थिइन् । ‘यो त्योभन्दा अझै खतरनाक छ किनकि यो अघोषित इमरजेन्सी हो’ उनले भनिन् ।

फादर स्वामी केही समयदेखि अनुसन्धान एजेन्सीको निगरानीमा थिए । विगत २ वर्षमा उनको घरमा २ पटक छापा मारियो । एक भिडियोमा उनले भनेअनुसार यो छापा उनलाई अतिवादी बामपन्थी समूहसँग सम्बन्धित रहेको जसरी भए पनि प्रमाणित गर्ने नियतले मारिएको थियो । तर, यी अभियन्तालाई चिन्नेहरु भन्छन् – उनले १९९१ मा झारखण्ड आएदेखि नै आफ्नो जीवन आदिवासीहरुको उत्थानमा समर्पित गरेका थिए । आदिवासीको अधिकार रक्षाको लागि सन् २००० मा विहार विभाजन गरेर झारखण्ड राज्य बने पनि यो राज्य विकासका दृष्टिले पछि छ र यहाँका आदिवासीहरु राज्यबाट पाखा पारिएका छन् । र, फादर स्वामीकासहयोगीहरु भन्छन् – उनी अथक रुपमा यी आदिवासीको अधिकारको लागि लडिरहे ।
उनी माओवादीको आरोपमा जेलमा हालिएका ३ हजार युवायुवतीको रिहाइको लागि उच्च अदालतसम्म पुगेका थिए । उनी यहाँका आदिवासीहरुलाई उनीहरुको अधिकारबारे जानकारी दिन दुर्गम गाउँहरुसम्म पुगेका थिए । उनले आदिवासीहरुलाई कसरी उनीहरुको स्वीकृतिबिना उनहिरुको क्षेत्रमा बाँध, खानी र शहरहरु निर्माण गरिँदैछ भन्नेबारे सचेत गराए । कसरी आदिवासीहरुलाई बिना मुआब्जा भूमिबाट बञ्चित गराइँदैछ भन्नेबारे उनले यहाँको समुदायलाई सचेत बनाएका थिए ।
उनले २०१८ मा आदिवासीहरुले गरेको विद्रोहप्रसित खुला रुपमा सहानुभूति दर्शाउँदै संसाधन र साझा भूमिमा आदिवासीको अधिकारबारे वकालत गरेका थिए । उनले कसरी ठूला व्यवसायिक संगठनहरुले आदिवासीको जमिन फ्याक्ट्री र खानीको लागि खोसिरहेका छन् भन्नेबारे लेखहरु पनि प्रकाशित गरिरहे । भारतको स्वतन्त्रतापछि १७ लाखभन्दा बढी भारतीयहरुको जमिन पावर स्टेशन, सिंचाइ परियोजना र फ्याक्ट्रीको लागि अधिग्रहण गरेर उनीहरुलाई विस्थापित गरिएको छ ।
आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका बावजुद फादर स्वामीले आदिवासीको पक्षमा बोल्ने कुनै अवसर गुमाएनन् । उनी एकपटक क्यान्सरको संक्रमण र तीनपटकको शल्यक्रियापछि बाँचेका हुन् । उनका हात अनियन्त्रित रुपमा काँप्छन् र डाक्टरहरुले अहिलेसम्म यसको कारण पत्ता लगाउन सकेका छैनन् । उनी खाना खान सक्दैनन्, खुवाउनुपर्छ । उनी अगाडि टेबलमा राखिएको चिया सुइरोको सहाराले पिउँछन् । केही वर्षअघि उनी काँपिरहेका हातले प्लेकार्ड समातेर भीडको हिंसाविरुद्धको एक जुलुसमा सहभागी भएका थिए । ‘यहाँको प्रतिबद्धता र यस्तोसम्म छ’ स्थानीय अभियन्ता सिराज दत्ताले भने ।

बेल्जियममा जन्मिएर भारतमा कार्यरत विकास अर्थशास्त्री जीन ड्रेजले फदर स्वामीलाई ‘समयप्रति प्रतिबद्ध, निष्पक्ष र आफ्नो उद्देश्यप्रति प्रतिबद्ध भद्र र इमानदार व्यक्ति’को रुपमा परिभाषित गर्छन् । ड्रेजले स्वामीलाई एक दशकभन्दा धेरै समयदेखि चिन्छन् । ‘उनको माओवादीप्रति सहानुभूति हुन सक्छ र उनले संगठितत व्यक्तिहरुलाई सहयोग गरेका हुन सक्लान् । यो झारखण्डजस्तो ठाउँमा असामान्य होइन । तर, त्यसले उनलाई माओवादी बनाउँदैन । उनको गिरफ्तारी प्रतिपक्षलाई दबाउन गरिएको ठूलो प्रयासकै एक भाग हो’ ड्रेजले बीबीसीसँग भने ‘उनलाई अहिले ती जनतालाई जस्तै व्यवहार गरिएको छ जसको रक्षाको लागि उनी जीवनभर लडिरहे ।’
उनका साथहिरुका अनुसार फादर स्वामीको अभियानको सुरुवात उनी युनिभर्सिटी अफ मनिलामा हुँदा नै भएको थियो । उनले आफ्ना साथीहरुसँग आफू फर्डिनान्ट मार्कोस (फिलिपिन्सका तत्कालीन राष्ट्रपति) को भ्रष्ट र क्रुर शासनसत्ता फाल्न त्यहाँका जनताले चलाएको अभियानबाट प्रभावित भएको बताउने गर्थे । फादर स्वामी किसानका छोरा हुन् र उनकी आमा तमिलनाडुकी हुन् । उनले एक दशकभन्दा धेरै समय बैंगलोरमा सिमान्तकृत समुदायका अगुवाहरुलाई प्रशिक्षित गर्ने एक स्कुलको नेतृत्व गरेका थिए । ‘सतनका लागि अरु सबथोकभन्दा आम मानिसहरु महत्वपूर्ण थिए । उनले आमा मानिसको साथमा रहन चर्चका पर्खालहरु नाघेका थिए’ फादरका एक साथी तथा अभियन्ता जेभियर डियाजले भने ।
उनी आफूले गुमाएका कुराहरुप्रति पनि सामाजिक थिए । दुई महिनाअघि उनका भान्जा चेन्नइमा कोभिड १९ का कारण मरे । उनकी दिदी सम्भवतः छोरा गुमाएको पीरले मरिन् । डियाजका अनुसार त्यतिबेला फादर स्वामीले भनेका थिए ‘यो मेरो व्यक्तिगत गुमाइ हो । तर, जब यति धेरै मानिसहरु यो रोगका कारण मरिरहेका छन् भने हामीले उनीहरुले गुमाएका कुराहरुबारे पनि सोच्नुपर्छ ।’ एनआइएका एजेन्टहरु आउनुभन्दा केही हप्ताअघि डियाजको घरमा डिनरका क्रममा यी दुईले भविष्य र आसन्न गिरफ्तारीको बारेमा कुरा गरेका थिए । ‘मेरा ब्यागहरु प्याक छन् र म जानको लागि तयार छु’ फादर स्वामीले डियाजसँग भनेका थिए ।







डिसी नेपाल








Facebook Comment