लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ सार्वजनिक
काठमाडाैं। पत्रकार एवं लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। विश्वमै बढिरहेको कोरोना संक्रमणकाबीचऔपचारिक कार्यक्रम बिनै पुस्तक बजारमा ल्याइएको हो। यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो।
यो पुस्तक चराचुरुङ्गी एवं वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए।
‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययनअनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’ पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ। नेपाली वाङ्मय यस किसिमको पुस्तक लेखिनु खुसीको विषय रहेको उनले बताए।
यो पुस्तक कतै पुस्तकालय, टेबलमा केहि दिन, घण्टा बिताएर सिर्जना गरिएको होइन। तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा गरेका छन्।
‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, भारतकै भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु। जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु। त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो।’







डिसी नेपाल








Facebook Comment