मास्क लगाउन नमाने २ वर्ष जेल ! जरिवाना समेत तिर्नुपर्ने

डिसी नेपाल
८ कार्तिक २०७७ १४:५०
324
Shares

काठमाडौं। कोरोनाभाइरसको महामारी चरम रुपमा फैलिन थालेपछि मास्क लगाउन अनिवार्य गर्ने र मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्कनेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले अफ्रिकी देश इथियोपियाले निकै कडा कानुनको व्यवस्था गरेको छ । अब यहाँ सार्वजनिक ठाउँमा बिना मास्क जानेहरुलाई २ वर्षसम्म जेल सजाय हुन सक्छ । यसबाहेक मास्क लगाउन अस्वीकार गर्नेहरुलाई जरिवानाको पनि सजायको व्यवस्था गरिएको छ ।

इथियोपिया अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको देश हो । अप्रिलमा यहाँ कोरोनाभाइरस रोक्नको लागि संकटकाल लगाइएको थियो । सेप्टेम्बरमा संकटकाल हटाइएको छ तर कडा प्रतिबन्धहरु अहिले पनि लागू छन् । सीएनएनको रिपोर्टअनुसार इथियोपियामा अहिले लागू गरिएका कडा नियमअनुसार एक टेबलमा ३ जनाभन्दा धेरै बस्न पाइने छैन र सार्वजनिक स्थलमा मास्क लगाउनु अनिवार्य छ । सरकारले नागरिकहरु सतर्क नभएको र कोरोना हुँदै नभएको जस्तो गरी बाँचिरहेको बताएको छ ।

स्वास्थ्य मन्त्री लिआ टेडेजले मानिसहरु सतर्क नरहे महामारी बढ्ने र यसले देशलाई समेत खतरा हुने बताएका छन् । सरकारी तथ्यांकअनुसार देशमा अहिलेसम्म कोरोनाका ९१ हजार केस भेटिएका छन् । यहाँ करिब १४०० जनाको मृत्यु भएको छ । रिपोर्टमा दावी गरिएअनुसार परीक्षणको कमीका कारण यहाँको वास्तविक तथ्यांक आउन सकेको छैन । यहाँ गएको अगष्टका लागि तय गरिएको निर्वाचन पनि स्थगित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.