बैंगलोरलाई हराउँदै क्वालिफायरमा स्थान सुरक्षित गरेपछि दिल्लीका कप्तान श्रेयसले के भने ?
काठमाडौं। इण्डियन प्रिमियर लिगको प्लेअफ समीकरण लगभग पूरा भएको छ । अब इलिमिनेटरमा पुग्ने एउटा टिमको छनोट हुन मात्र बाँकी छ । यो टिम सनराइजर्स हैदराबाद र कोलकाता नाइटराइडर्स मध्ये कुनै एक हुनेछ । आज हुने मुम्बइ इण्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलमा यसको छिनोफानो हुनेछ । हिजो रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेल जिलेपछि दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा मुम्बइ इण्डियन्ससँग खेल्ने निश्चित भएको छ । पहिलो क्वालिफायर बिहीबार दुबइमा हुनेछ ।
पहिलो र दोस्रो स्थानमा रहने टिमले लिगको फाइनल पुग्न २ अवसर पाउँछन् । यी दुई टिमबीच पहिलो क्वालिफायर हुन्छ । त्यो खेल जित्ने सिधै फाइनल पुग्छ तर हार्ने टिम सिधै नकआउट हुँदैन । हार्ने टिमले तेस्रो र चौथो स्थानमा रहने टिमहरुबीच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउँछ । पहिलो क्वालिफायर हार्ने टिमले दोस्रो क्वालिफायर जितेर पनि फाइनल पुग्न पाउँछ । तर, तेस्रो र चौथो स्थानमा रहने टिमहरुको इलिमिनेटरमा हार्ने टिम भने सिधै नकआउट हुन्छ ।
हिलजोको खेल जितेर तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न दुई अवसर पाउने निश्चित गरेपछि दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरले हिजोको खेलमा आफूहरुको ध्यान नेट रनरेटमा नभइ जीतमा केन्द्रित भएको बताएका छन् । हिजोको खेल सानो अन्तरले हारेको भए पनि दिल्ली आउट हुँदैनथ्यो तर, प्लेअफमा इलिमिनेटरमा खेल्नुपर्ने हुन्थ्यो । हिजो दिल्लीसँग हारेर पनि बैंगलोर त्यही समीकरणअनुसार प्लेअफ पुगेको छ । उसको स्थान तेस्रो हुने वा चौथो भन्ने आजको खेलले पक्का गर्नेछ ।
अय्यरले दिल्लीको जीतपछि भने ‘टिमको प्रदर्शनबाट धेरै खुसी छु । हामीलाई थाहा थियो यो गर वा मरको खेल थियो र हाम्रो ध्यान केवल जित्नेमा केन्द्रित थियो, नेट रनरेटमा होइन । दोस्रो हाफमा जित्ने टिमहरुले स्थितिलाई पूरै बदलिदिए । निश्चित रुपमा यो निकै प्रतिस्पर्धी प्रतियोगिता हो ।’ अय्यरले बलरहरुको प्रशंशा गर्दै उनीहरुले रणनीतिलाई राम्रोसँग लागू गरेको बताए । खेलअघि विपक्षी टिमको बलियो र कमजोर पक्षबारे छलफल भएको बताउँदै अय्यरले भने ‘बलरहरुलाई के गर्नुपर्छ भन्ने थाहा थियो ।’
मुम्बइसँग बिहीबार हुने पहिलो क्वालिफायरबारे कुरा गर्दै अय्यरले भने ‘मुम्बइ प्रतियोगिताको सर्वश्रेष्ठ टिममध्ये एक हो । हामीले परिस्थितिलाई सहज राख्नुपर्छ । आधारभूत कुरामा ध्यान दिनुपर्छ । हामीले बैठकमा यही कुरा गरेका छौं ।’ बैंगलोरका कप्तान विराट कोहलीले खेल हार्दा दुःख लागेको तर प्लेअफ पुग्दा खुसी पनि लागेको बताउँदै यो आफ्नो लागि मिश्रित समय भएको बताए ।
हिजोको खेलमा बैंगलोरले दिल्लीलाई १७ ओभर ३ बलभन्दा पहिले जीत हासिल गर्नुबाट रोक्नु पर्ने थियो । किनकि यदि कम्तीमा १५ बल बाँकी छँदै दिल्लीले लक्ष्य हासिल गरेको भए नेट रनरेटका आधारमा बैंगलोर कोलकाताभन्दा पछि पर्ने थियो । यस्तोमा आजको खेलमा हैदराबादले मुम्बइलाई जितेर प्लेअफ पुगेको अवस्थामा कोलकाता प्लेअफ पुग्थ्यो र बैंगलोर बाहिरिने स्थिति आउँथ्यो ।







डिसी नेपाल








Facebook Comment