अमेरिकी राष्ट्रपतीय चुनाव अन्तर्गत मतदान सम्पन्न, नतिजा आउन शुरू

डिसी नेपाल
१९ कार्तिक २०७७ ६:२९
444
Shares

बीबीसी। मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन्। कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ।

बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।

कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन्।

श्रीमान्‌सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उनले भनिन्, “आज निर्वाचनको दिन हो। त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ।” राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका थिए।

अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन्। अतः राष्ट्रपति कि डेमोक्र्याट (जो बाइडन) हुन्छन् कि रिपब्लिकन (डोनल्ड ट्रम्प)।
हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन्। दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्छन् जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ। जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ।
अहिले सारा ध्यान ट्रम्प र बाइडनको निर्वाचनमा छ तर मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन्। कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले जनाएको थियो।

अमेरिकी चुनावी अभियानहरूमा विज्ञापन एउटा महत्त्वपूर्ण हिस्सा हुने गरेको छ र यो वर्षको चुनाव पनि अपवाद हुन सकेन। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ।

त्यसमध्ये अधिकांश रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ। राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले चाहिँ ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको छ।

ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीले भन्दा थप चार करोड ३० लाख डलर डिजिटल विज्ञापनमा खर्च गरेको हुन सक्ने जनाइएको छ। यो कन्टार/सीएमएजीले उपलब्ध गराएको आज बिहानसम्मको विज्ञापन खर्च विवरण हो।

फिलाडेल्फियामा मतदाताहरू मतदानका लागि लामबद्ध हुन थालेपछि मतदान केन्द्रअगाडि सङ्गीत र नृत्य कार्यक्रम शुरू भयो। जोय टु द पोल्स नामक एउटा संस्थाले तनाव हटाउन र मतदान केन्द्रसम्म सङ्गीत पुर्‍याउन कार्यक्रम गरेको जनाएको छ।

गत हप्ता न्यूयोर्कका बासिन्दाहरू मत खसाल्नका लागि लामबद्ध भइरहँदा अभिनेता पल रुड आएर उनीहरूलाई कुकिज बाँड्न थाले। ब्ल्यूबेरी क्रीम भएको कुकिज मानिसहरूले मन पराए र खुशी भए।

सबैभन्दा शुरूमा नतिजा घोषणा गर्ने नगरमध्ये डिक्सभिल नोच एउटा हो। त्यहाँ जम्मा १२ जना बासिन्दा छन्। ती सबैले मध्यरातपछि मतपेटिका राखिएको एउटा विशेष कोठामा मतदान गर्छन्। अरू ठाउँका नतिजा सार्वजनिक हुनुभन्दा कैयौँ घण्टा पहिला त्यहाँको नतिजा घोषणा हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.