राष्ट्रपति हुने लगभग तय भएपछि जो बाइडेनले सम्बोधनमा के भने ?
काठमाडौं। अमेरिकामा डेमोक्रेट उम्मेदवार जो बाइडेन नयाँ राष्ट्रपति बन्ने लगभग तय भएको छ । बाइडेनले ३ ठूला राज्यहरु पेन्सलभेनिया, जर्जिया र नेवादामा अग्रता लिइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता नर्थ क्यारोलिना र अलास्कामा मात्र छ । बाइडेनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । राष्ट्रपति बन्नका लागि कम्तीमा २७० सिट चाहिन्छ र बाइडेन बहुमतबाट मात्रै ६ सिट टाढा छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधलीको आरोप लगाउँदै मतगणना रोक्न अदालत पुगेपछि शनिबार बाइडेनले देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले ट्रम्पको नाम नलिइ ट्रम्पलाई शान्त रहन अपिल गरेका छन् । ट्रम्पलाई आक्रोशित नहुन आग्रह गर्दै बाइडेनले भने ‘हामी विरोधी हुन सक्छौं तर दुश्मन होइनौं । हामी सबै अमेरिकी हौं ।’ समर्थकहरुसँग डेमोक्रेट्सले चुनाव जित्न गइरहेको कुरामा कुनै शंका नभएको बताउँदै बाइडेनले अमेरिकी जनताले आफूहरुलाई सरकार चलाउने जनादेश दिएको बताए ।
देशले डेमोक्रेटहरु फेरि एकजुट भएर अगाडि बढुन् भन्ने चाहेको बताउँदै बाइडेनले समर्थकहरुलाई धैर्य गर्न अपिल गरेका छन् । ‘आज हामी त्यही प्रमाणित गर्दैछौं जो २४४ वर्ष पहिले (१७७६) मा गरेका थियौं र त्यो यो हो कि लोकतन्त्र सफल र प्रधावकारी छ’ बाइडेनले भने ‘तपाइँहरुको हरेक भोट गनिनेछ ।’ बाइडेनले समर्थकहरुसँग शान्ति कायम राख्न अपिल पनि गरे ।
उता ट्रम्पले लगातार ट्वीट गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन् ‘बितेका २–३ दिनमा अंकहरु कसरी बढिरहेका छन् यसको स्पष्टीकरण चाहन्छु । चुनावको रात म सबै राज्यमा लिड गरिरहेको थिएँ । जब केही दिन बिते यो लिड कम भयो । जब कानुनी प्रक्रिया अगाडि बढ्नेछ शायद हाम्रो लिड पनि बढ्नेछ । जो बाइडेनले राष्ट्रपति कार्यालयमा गलत दावी गर्नु हुँदैन । म पनि यस्तो दावी गर्न सक्छु । कानुनी प्रक्रिया सुरु भइसकेको छ ।’







डिसी नेपाल








Facebook Comment