अमेरिकामा ४ वर्षदेखि परिवार पर्खिरहेका शरणार्थी, जसले चुनाबको दिनदेखि केही खाएका छैनन्
काठमाडौं। अफकाब हुसेनले अमेरिकी राष्ट्रपतिका लागि भएको चुनाबको दिनदेखि केही खान सकिरहेका छैनन् । ‘मैले केवल प्रार्थना गर्न र समाचार हेर्न मात्र सकिरहेको छु’ सोमालियाली शरणार्थी ३२ वर्षका हुसेनले न्यूयोर्क टाइम्ससँग भने । उनी ५ वर्षअघि अमेरिका आएका हुन् । त्यसअघि उनी एक दशकभन्दा बढी केन्यामा शरणार्थीको रुपमा बसेका थिए । अमेरिका पुगेदेखि उनले अहिलेसम्म पनि आफ्नी पत्नी र २ छोराहरुको प्रतिक्षा गरिरहेका छन् ।
‘मेरी पत्नी र छोराहरुसँग पुनर्मिलनको लागि यो निर्वाचन एकमात्र आशा हो’ हुसेनले शुक्रबार भने । ५ वर्षअघि हुसेन अमेरिका आएको केही समयपछि उनकी पत्नी र छोराहरुलाई अमेरिका आउन अनुमति दिइएको थियो । तर, अनुमति दिइएलगत्तै डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिए । नयाँ प्रशासनले शरणार्थी कार्यक्रम खारेज गरिदियो र कैयौं मुस्लिम देशका बासिन्दाहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो । त्यसयता हजारौं शरणार्थीहरु अफ्रिका, मध्यपूर्व र एसियामा रोकिएका छन् जसमध्ये हुसेनको परिवार पनि एक हो ।
हुसेनले हरेक दिनजसो परिवारसँग ह्वाट्सएपमा कुरा गर्छन् । ५ वर्षदेखि उनले अमेरिकाका विभिन्न ठाउँमा डेलिभरीको लागि १८ पाङग्रे ट्रक चलाइरहेका छन् र उनका २ नाबालक छोराहरुको तस्वीर नै उनको जीवनमा खुसीको एकमात्र स्रोत हो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा चुनावपूर्वको सर्वेक्षणले हुसेनको मनमा आशा जाग्यो । तर, जब सुरुवाती रुझानमा डोनाल्ड ट्रम्पले ‘ब्याटलग्राउण्ड’ राज्यमा अग्रता थिए, हुसेनको मन त्रासले भरियो ।
‘म आत्तिएको थिएँ र मेरो मन दुखिरहेको थियो’ हुसेनले भने । ट्रम्पले अग्रता लिएसँगै हुसेनले खान छोडे । शुक्रबार बाइडेनले ब्याटलग्राउण्ड स्टेटमा अग्रता लिँदै जीतको नजिक पुगेपछि भने हुसेन पुनः आशावादी भएका छन् । ‘म अत्यन्तै खुसी छु । तपाइँ यसको कल्पना पनि गर्न सक्नुहुन्न’ उनले भने ‘अब म पनि परिवारको साथमा हुनेछु ।’







डिसी नेपाल








Facebook Comment