हार अस्वीकार गर्दै ट्रम्प गल्फ खेल्न गए, ह्वाइट हाउस अगाडि विजय उत्सव

डिसी नेपाल
२२ कार्तिक २०७७ २३:५४
1.6k
Shares

वासिंडटन डिसी। अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअगाडि आफ्ना विपक्षी जो वाइडेनको विजयउत्सव चलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्प गल्फ खेल्न निस्किएका छन्।

अमेरिकी समाचारसंस्था सीएनएनले प्रसारण गरेको समाचारअनुसार, ट्रम्प डिसी नजिकको राज्य भर्जिनियाको गल्फ कोर्समा गल्फ खेलिरहेका छन्।

वाइडेनका समर्थकहरुको विजयउत्सव हेर्नुभन्दा आफ्नो तनाव छल्न उनी गल्फ खेल्न गएको दावी सीएनएनले गरेको छ। पेन्सिलभेनिया राज्यको मतगणनामा वाइडेनले जित हासिल गरेकोले उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल कलेज भोट प्राप्त गरिसेको छन्।

अरु केही राज्यहरुमा मत गणना जारी छ। वाइडेनले जितिसकेकाले उनका समर्थकहरु अमेरिकाभरका विभिन्न शहरहरुमा विजय उत्सवमा सहभागी हुन थालेका छन्। राजधानी डिसी र नजिकका शहरहरुका मुख्य चोकहरुमा वाइडेन समर्थकहरुले वधाइ साटासाट गर्दै उत्सब मनाइरहेका दृश्यहरु अमेरिकी संचारमाध्यमहरुमा प्रसारण भइरहेका छन्।

उता, ट्रम्पले भने शनिवार विहानै एक वक्तव्य जारी गर्दै आफ्नो हार अस्वीकार गरेका छन्। र, आफूले नै बैधानिक भोटमार्फत अमेरिकी राष्टपति पद पुनः जितेको दावी गरेका छन्। उनले वाइडेनले भ्रमपूर्ण दावी गरेको बक्तव्यमा भनेका छन्।

वाइडेनलाई कसैले पनि विजयी भनेर प्रमाणित नगरेको, कतिपय राज्यहरुमा अनिवार्यरुपमा पुनः मतगणना हुँदै गरेको र वाइडेनले जितेको भनिएका कतिपय राज्यमा त्यसविरुद्ध आफूले कानूनी प्रक्रिया शुरु गरेको तर्क दिंदै उनले हार अस्वीकार गरेका हुन्।

बक्तव्यमा उनले निर्वाचनमा भएको धाँधलीका विरुद्ध सोमबार कानुनी उपचार खोज्न अदालत जाने बताएका छन्। वैध भोटहरु गणना हुँदा आफूले जितेकोले पराजित भएको स्वीकार गर्न नसक्ने तर्क उनले दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.