चुनाब जिते पनि अझै अढाइ महिना राष्ट्रपति बन्न पाउने छैनन् जो बाइडेन
काठमाडौं। अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । राष्ट्रपति बन्नको लागि आवश्यक २७० इलेक्टोरल भोटको संख्या पार गरेपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बाइडेनले २९० इलेक्टोरल सिट जितिसकेका छन् । यद्यपि अमेरिकामा सबै मतगणना अझै सकिएको छैन । जर्जिया, नर्थ क्यारोलिना र अलास्कामा अझै मतगणना बाँकी नै छ । तर, यी बाँकी सबै राज्यमा डोनाल्ड ट्रम्पले जिते पनि बाइडेनको बहुमतमा कुनै फरक नपर्ने भएकोले बाइडेन निर्वाचित भएको घोषणा गरिएको हो ।
बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरिए पनि उनी अहिले नै अमेरिकाको राष्ट्रपति बन्न पाउने छैनन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नको लागि बाइडेनले अझै करिब अढाइ महिना प्रतिक्षा गर्नुपर्नेछ । आगामी २०२१ जनवरी २० मा मात्र बाइडेनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न पाउनेछन् । त्यसपछि मात्रै बाइडेनको ह्वाइट हाउसमा औपचारिक प्रवेश हुनेछ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको लागि हरेक प्रक्रियाको समय तालिका पहिले नै निर्धारण गरिएको हुन्छ । हरेक ४ वर्षमा हुने यो निर्वाचन प्रत्येक पटक सोही समय तालिकाअनुसार हुन्छ ।
यस्तो हुन्छ प्रक्रिया
अमेरिकी राष्ट्रपति पदको लागि उम्मेदवार बन्न नै निश्चित मापदण्ड पूरा गर्नुपर्छ । संविधानको अनुच्छेद २ को खण्ड (१) मा यसबारे उल्लेख छ । अमेरिकी राष्ट्रपति पदमा उम्मेदवार बन्न चाहने व्यक्ति अमेरिकामा जन्मिएको र अमेरिकी नागरिक हुनुपर्छ । उम्मेदवार बन्न चाहनेको उमेर कम्तीमा ३५ वर्ष पुगेको हुनुपर्छ । चुनाव लड्ने व्यक्ति कम्तीमा १४ वर्षदेखि अमेरिकामा स्थायी रुपमा बसिरहेको हुनुपर्नेछ ।
अमेरिकामा मुख्य रुपमा २ पार्टी चुनाव लड्छन् । रिपब्लिकन र डेमोक्रेट पार्टीले आ–आफ्ना उम्मेदवार उठाउँछन् । उम्मेदवार बन्नुपूर्ण उनीहरुले लामो प्रक्रिया पार गर्नुपर्छ । पार्टीको उम्मेदवार को हुन्छ भन्ने चयन पार्टीका समर्थक वा जनताले गर्छन् । उम्मेदवार छनोटमा प्राइमरी र ककस प्रक्रिया प्रमुख हुन् । पार्टीको कुनै पनि कार्यकर्ता चुनावमा उठ्न सक्छन् तर उठ्न चाहने जो कोहीले प्राइमरी र ककस प्रक्रिया पार गर्नुपर्छ ।
उम्मेदवार बन्नको लागि सबैभन्दा पहिले अमेरिकी राज्यमा प्राइमरी चुनाव जित्नुपर्छ । यो चुनाब राज्यहरुमा हुन्छ । यसमा पार्टीका समर्थकका साथसाथै आम जनताले पनि चुनावमा भाग लिन सक्छन् । अर्को प्रक्रिया ककस हो । यसका उम्मेदवार बन्न चाहनेहरुको लागि पार्टीको तर्फबाट चुनाब करार गराइन्छ । यसमा पार्टीका समर्थकहरु एक ठाउँ जम्मा भएर विभिन्न विषयमा चर्चा गर्छन् । उम्मेदवार बन्न चाहनेहरुको कुरा सुनेपछि पार्टी समर्थकले हात उठाएर आफ्नो समर्थन दिन्छन् ।
ककस र प्राइमरी चुनावको प्रक्रियापछि पार्टीले राष्ट्रपति पदका उम्मेदवारको नाम तय गर्छन् । तर, उम्मेदवारको नामको औपचारिक घोषणा भने नेशनल कन्भेन्सनमा गरिन्छ । रिपब्लिकन पार्टीले अगष्ट महिनामा नेशनल कन्भेन्सनको आयोजना गर्छ । डेमोक्रेटिक पार्टीले भने जुलाइमा नेशनल कन्भेन्सन आयोजना गर्छ । नेशनल कन्भेन्सनमा दुवै पार्टीका सर्वोच्च नेताले राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्छन् । घोषणापछि राष्ट्रपति पदका उम्मेदवारले समर्थकलाई सम्बोधन गर्छन् । यही समय उपराष्ट्रपतिको उम्मेदवारको पनि घोषणा गरिन्छ । यससँगै अमेरिकी राष्ट्रपति निर्वाचनको वास्तविक प्रक्रिया सुरु हुन्छ ।
अमेरिकामा हरेक ४ वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार राष्ट्रपति पदको लागि मतदान हुन्छ । यो मतदानमा जनता प्रत्यक्ष रुपमा मतदानमा भाग लिँदैनन् । अमेरिकी जनताले सुरुमा स्थानीय स्तरमा इलेक्टोरलको चुनाव गर्छन् । यी अमेरिकी राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधि हुन्छन् । यो समूहलाई इलेक्टोरल कलेज भनिन्छ । इलेक्टोरल कलेजमा कूल ५३८ सदस्य हुन्छन् । यी सदस्य फरक फरक राज्यबाट फरक फरक संख्यामा आउँछन् ।
जनताले सिधै भोट दिएर यिनै ५३८ सदस्य चुन्ने हो । यी सदस्यले राष्ट्रपति चुन्छन् । राष्ट्रपति बन्नको लागि उम्मेदवारलाई २७० वा सोभन्दा बढी इलेक्टोरल कलेज सदस्यको समर्थन चाहिन्छ । अहिले जो बाइडेनले २९० इलेक्टोरल कलेज सदस्यको समर्थन हासिल गरिसकेकोले उनी राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएको हो ।
अब बाइडेनले आगामी डिसेम्बर १४ मा कंग्रेस (संसद) समक्ष आफ्ना समर्थकहरुको विवरण पेश गर्नेछन् । जनवरी ६ मा कंग्रेसले इलेक्टोरल कलेज भोटको गणना गर्नेछ र त्यसलाई प्रमाणीकरण गर्नेछ । कंग्रेसको प्रमाणीकरणपछि आगामी जनवरी २० मा बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पदको शपथ ग्रहण गर्नेछन् र औपचारिक रुपमा राष्ट्रपति र उपराष्ट्रपति पदको पदभार ग्रहण गर्नेछन् । त्यतिबेलासम्म डोनाल्ड ट्रम्प नै अमेरिकाको राष्ट्रपति रहनेछन् ।







डिसी नेपाल








Facebook Comment