हैदरावादलाई हराउँदै दिल्ली आईपीएलको फाइनलमा
काठमाडौं। यूएईमा जारी आईपीएलको जारी सिजनका फाइलनमा पुग्ने दुई टिमको टुंगो लागेको छ। आइतबार अबुधाबीमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स विजयी भएसँगै दिल्लीले यसअघि नै फाइनल पुगिसकेको मुम्बई इण्डियन्ससँगको उपाधि भिडन्त पक्का गरेको छ।
दिल्लीले सनराइजर्स हैदरवादलाई १७ रनले पराजित गर्यो। पहिला ब्याटिंग गरेको दिल्लीले शिखर धवनमको ७८ रनको मद्दतमा ३ विकेटमा १८९ रन बनाएको थियो। जवाफी ब्याटिंगमा उत्रिएको हैदरावादले ८ विकेटमा १७२ रन बनाउन सक्यो।
दिल्लीको जितमा ब्याटिंगबाट शिखर धवनले धुवाँधार ब्याटिंग गरे भने बलिंगतर्फ कागिसो राबाडाले धारिलो बलिंग गरे। आफ्नो चौथो तथा टिमको १९ औं ओभरमा राबाडाले महत्वपूर्ण तीन विकेट लिएर हैदरावादको आशामाथि तुषारापात गरिदिएका थिए।
राबाडाले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए। राबाडा जारी आईपीएलमा सबैभन्दा धेरै विकेट लिने बलरसमेत बनेका छन्। उनले हालसम्म ३० विकेट लिइसकेका छन्।
उता विशाल लक्ष्य पछ्याएको हैदरावादको शुरुआत निकै खराब रह्यो। टिमको स्कोर १२ हुँदा दोस्रो ओभरमै कप्तान डेबिड वार्नर आउट भएका थिए। उनलाई राबाडाले बोल्ड गरेका थिए। त्यसपछि मार्कोस स्टोइनिसले प्रियम गर्ग र मनिस पाण्डेको एकै ओभरमा विकेट लिँदै जितको आधार पक्का बनाए। तर, केन विलियम्सले अर्धशतक बनाउँदै हैदरावादको आशा जोगाएका थिए। उनी ४५ बलमा ६७ रन बनाएर आउट भए।
अब उपाधिका लागि दिल्ली र मुम्मबईबीच मंगलबार भिडन्त हुनेछ। दिल्ली आईपीएल इतिहासमै पहिलो पटक फाइनलसम्म पुगेको हो।







डिसी नेपाल








Facebook Comment