बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाब जित्दा साउदी अरेबिया किन डराइरहेछ ?
काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको जीतले विश्वका कैयौं देश उत्साहित भएका छन् भने कैयौं देश असहज पनि भएका छन् । केही देशले बाइडेनलाई जीतको बधाइ समेत दिएका छैनन् । साउदी अरेबियाले पनि बाइडेनलाई बधाइ दिन २४ घण्टाभन्दा ढिलाइ गर्यो । साउदी अरेबिया बाइडेनलाई बधाइ दिन हिच्किचाउनुको पछाडि कारण पनि छ । साउदीले डोनाल्ड ट्रम्पले चुनाब जितुन् भन्ने चाहेको थियो तर बाइडेनको जीतले उसलाई आगामी दिनमा कठिनाइ हुन सक्छ ।
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको राष्ट्रपति ट्रम्पसँग निकटता छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले निर्वाचित भएपछि पहिलो विदेश भ्रमण क्यानडा वा मेक्सिकोको गर्ने चलनलाई तोड्दै ट्रम्पले पहिलो विदेश भ्रमण साउदी अरेबियाको गरेका थिए । ट्रम्प साउदीको लागि सुरक्षा कवच जस्तै थिए । मानवअधिकारको मुद्दा, यमन युद्धमा साउदी अरेबियाको भूमिका लगायतका विषयमा ट्रम्प प्रशासनले साउदीको साथ दिएको थियो । अर्कोतर्फ बाइडेनले भने चुनाबी अभियानमै साउदीसँग अमेरिकाको सम्बन्धको समीक्षा गर्ने घोषणा गरिसकेका छन् । यसबाहेक बाइडेनले यमन युद्धमा अमेरिकी सहयोग रोक्ने पनि बताइसकेका छन् ।
साउदीका एक ट्वीटर युजरले भर्खरै लेखेका थिए ‘साउदीको लागि कोभिड–१९ भन्दा खराब चीन यदि केही हुन्छ भने त्यो बाइडेन–२० हुनेछन् ।’ साउदी अरबको प्रमुख अखबार ओकाजले पनि आफ्नो प्रथम पृष्ठमा प्रकाशित रिपोर्टमा बाइडेनको जीतपछि साउदी अरेबियाको भविष्यका विषयमा अनिश्चितता जाहेर गरेको छ । ट्रम्पका लागि अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीति, मानवअधिकार, लोकतन्त्र, महिला अधिकार जस्ता मूल्य मान्यताभन्दा धेरै अहम आर्थिक हित रहे तर बाइडेनको हकमा त्यो लागू नहुने अनुमानका आधारमा साउदीलाई अबका दिन कठिन हुने विश्लेषण गरिएको छ ।
टर्कीस्थित साउदी अरेबियाको दूतावासमा अमेरिकी अखबार वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यापछि विश्वभर साउदी अरेबियाको आलोचना भयो । तर, ट्रम्पले कंग्रेसले विरोध गर्दागर्दै पनि साउदीलाई हतियार बेचिरहे । ट्रम्पको विपरित बाइडेन मानवअधिकारका विषयमा निकै आक्रामक छन् । बाइडेनले सत्तामा आउनासाथ साउदी अरेबियालाई हतियार बेच्न बन्द गर्ने घोषणा पनि गरिसकेका छन् । यमनमा साउदीको युद्धको विषयमा पनि बाइडेनले कडा टिप्पणी गर्दै साउदीको वर्तमान नेतृत्वमा सामाजिक मूल्य र मान्यता नाममात्रको रहेको बताएका थिए ।
साउदी राजकुमार मोहम्मद बिन सलमानले घरेलु राजनीतिमा पनि आफूविरुद्धका असन्तोषलाई दबाउन हरेक उपाय अपनाएका छन् । उनले आफ्नो गद्दीको लागि खतरा बन्ने सक्ने कैयौं आफन्तलाई जेलमा हालिसकेका छन् । साउदीविरुद्ध आवाज उठाउँने कैयौं अभियन्तालाई मृत्युदण्ड दिइएको छ । बाइडेन अभियानका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै बाइडेनले ट्रम्पले जस्तो तानाशाह र अधिकारको दुरुपयोग गर्ने नेतालाई खाली चेक दिनुको सट्टा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको लागि मित्र र शत्रु दुवैसँग समान व्यवहार गर्ने बताएका थिए ।
साउदी अरब इरानविरुद्ध ट्रम्पले अख्तियार गरेको अधिकतम दबाब नीतिको समर्थक हो । ट्रम्पले २०१८ मा इरानसँग भएको परमाणु सम्झौता अन्त्य गरेका थिए र इरानमाथि कैयौं प्रतिबन्ध लगाएका थिए । यी प्रतिबन्धका कारण इरानको अर्थ व्यवस्था धराशायी भएको छ । बाइडेनले भने इरानसँग २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने बताइसकेका छन् । यो सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो र त्यतिबेला बाइडेन उपराष्ट्रपति थिए ।







डिसी नेपाल








Facebook Comment