मुम्बइले ४ तर रोहित शर्माले ५ आइपिएल जितेका छन्, रोहितले कुनै फाइनल हारेका छैनन्
काठमाडौं। इण्डियन प्रिमियर लिगको फाइनल आज बेलुका हुँदैछ । आज बेलुका नेपाली समयअनुसार पौने ८ बजे हुने फाइनलमा उपाधिका लागि मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । मुम्बइले छैटौं पटक आइपिएलको फाइनल खेल्दैछ । दिल्लीको भने यो पहिलो फाइनल हुनेछ ।
मुम्बइका कप्तान रोहित शर्माको आइपिएल इतिहास अचम्मलाग्दो छ । आइपिएलको जुन सिजनमा उनी फाइनल पुगेका छन् त्यो सिजन उनले उपाधि जितेका छन् । रोहित अहिलेसम्म ५ पटक आइपिएलको फाइनल खेले र पाँचै पटक उपाधि जितेका छन् । यीमध्ये एक पटक भने उनी कप्तान थिएनन् र उनको टिम मुम्बइ इण्डियन्स पनि थिएन ।
आइपिएल सुरु हुने वर्ष २००८ मा रोहित डेक्कन चार्जर्समा आबद्ध थिए । त्यो सिजन डेक्कन फाइनल पुग्न सकेन । अर्को वर्ष २००९ मा डेक्कन फाइनल पुग्यो । रोहितले फाइनल खेले र उनको टिमले फाइनल जित्यो । २०१० मा भने डेक्कन फाइनल पुग्न सकेन । २०११ मा रोहित मुम्बइ इण्डियन्समा आए ।
रोहित मुम्बइ इण्डियन्समा आएको २ वर्षपछि २०१३ को सिजनको मध्यमा मुम्बइका कप्तान रिकी पोन्टिङले रोहितलाई कप्तानी सुम्पिए । त्यो सिजन मुम्बइ फाइनल पुग्यो र जित्यो । त्यसपछि रोहितको कप्तानीमा मुम्बइ २०१५, २०१७ र २०१९ मा फाइनल पुगेर फाइनल जितेको छ ।
अहिलेसम्म आइपिएलको फाइनलमा रोहित शर्माको शतप्रतिशत ट्रयाक रेकर्ड छ । अर्थात रोहित शर्माले खेलेका एउटा पनि फाइनल हारेका छैनन् । आजको खेलमा उनले आफ्नो शतप्रतिशत रेकर्ड राख्न सक्छन् कि सक्दैनन् त्यो भने आज बेलुका थाहा हुनेछ ।







डिसी नेपाल








Facebook Comment