अमेरिकी सिक्रेट सर्भिसका १०० भन्दा धेरै अधिकारीलाई क्वारेन्टाइनमा बस्न निर्देशन
काठमाडौं। अमेरिकी सिक्रेट सर्भिसका १ सय भन्दा धेरै अधिकारीहरुलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यी अधिकारीहरु केही कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ र केही संक्रमितसँग नजिकको सम्पर्कमा रहेका कारण क्वारेन्टाइनमा बस्न भनिएको यस विषयमा जानकार एक व्यक्तिलाई उद्धृत गर्दै युएसए टुडेले जनाएको छ । संक्रमित भएका र क्वारेन्टाइनमा बसेका अधिकारीहरुको यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन तर ती व्यक्तिका अनुसार यो संख्या निकै ठूलो छ ।
यो संख्या सिक्रेट सर्भिसको १६०० सदस्यीय युनिफर्मड डिभिजनको मात्रै हो जो सर्वसाधारणसँग धेरै सम्पर्कमा रहन्छन् । उनीहरुको जिम्मामा विभिन्न कार्यक्रममा स्क्रिनिङ र ह्वाइट हाउस मैदानको गस्तीको काम हुन्छ । यो डिभिजनका जवानहरु राष्ट्रपति र ह्वाइट हाउसका उच्च अधिकारीहरुको प्रत्यक्ष सम्पर्कमा पनि आइरहन्छन् तर स्रोतले कुन कुन क्षेत्रमा तैनाथ कति संख्यामा संक्रमित पाइए भन्नेबारे केही बताउन अस्वीकार गरेको छ ।
यसअघि पहिलोपटक सिक्रेट सर्भिसका अधिकारीहरु संक्रमित भएकोबारे वाशिङटन पोस्टले समाचार प्रकाशित गरेको थियो जसले संक्रमित र क्वारेन्टाइनमा बसेकाहरुको संख्या १३० भन्दा धेरै भएको बताएको थियो । यी रिपोर्ट राष्ट्रपतिको चुनावी अभियानको अन्त्यपछि आएका हुन् । चुनावी अभियानको क्रममा उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का उम्मेदवार जो बाइडेनको कार्यक्रममा सुरक्षा दिएका थिए ।







डिसी नेपाल








Facebook Comment