बेलायतको सिंहासनमा पुग्ने केट मिडलटनको चलाखी, राम्रो स्कुल छाडिन्, ९ वर्ष पर्खिइन्
काठमाडौं। अढाइ वर्षअघि बेलायती राजकुमार ह्यारी र मेगन मर्केलको विवाह भएपछि केही ट्याब्लोइड अखबारहरुले मेगनले ह्यारीलाई आफ्नो नियन्त्रणमा राखेको दावी गरेका थिए । तर, वास्तवमा निकै चलाखीपूर्ण र रणनैतिक तरिकाले बेलायतको राज सिंहासनको लाइनमा पुग्ने महिला भने मेगन नभइ उनकी जेठानी अर्थात राजकुमार विलियमकी पत्नी केट मिडलटन भएको खुलासा भएको छ । बेलायती राजपरिवारको इतिहासका ज्ञाता रोबर्ट लेसीले आफ्नो पुस्तक ‘ब्याटल अफ ब्रदर्सः विलियम एण्ड ह्यारी – द इनसाइड स्टोरी अफ अ फेमिली इन टमल्ट’मा यसबारे खुलासा गरेका छन् ।
लेसीले आफ्नो पुस्तकमा केटले आफूलाई राजकुमार विलियमको पत्नी बन्नको लागि पहिलो रोजाइको रुपमा प्रस्तुत गर्न कहाँसम्मको रणनीति अपनाइन् भन्ने विस्तारमा बताएका छन् । लेसीका अनुसार केटले १९ वर्षकी हुँदादेखि नै विलियमको पिछा गर्न थालेकी थिइन् । उनले विलियमसँग २००१ मा युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुजमा भेटेकी थिइन् । लेसीले एल्लेलाई बताएअनुसार केटले त्यो विश्वविद्यालयमा भर्ना हुन्छिन् भन्ने त्यसअघि सोचिएको थिएन ।
‘केट धेरै रणनैतिक थिइन्’ लेसी भन्छन ‘उनले बेलायतको प्रतिष्ठित विश्वविद्यालय एडिनबर्गमा आफूले पाएको स्थान त्यागिन् र अर्कोमा भर्ना हुन गइन् जहाँ उनले एडिनबर्गगै स्तरको शैक्षिक स्तर पाउन सक्दिनथिन् । उनले पहिल्यै एडिनबर्गका सिट र आवासीय सुविधा पनि पाइसकेकी थिइन् तर उनले विश्वविद्यालय पनि फेरिन् र कोर्स पनि फेरिन् र विलियमले पढेकै कोर्स पढिन् । उनले आफ्नो पढाइ पनि एक वर्ष ढिला गरिन् ।’
लेसीका अनुसार केटले विलियमसँग भेट्नु संयोग थिएन तर उनी एक्लै थिइनन् । लेसीको पुस्तकका अनुसार राजकुमार विलियमले स्कटल्याण्डमा रहेको सेन्ट एन्ड्रयुजमा पढ्ने खबर बाहिरिएपछि त्यहाँ पढ्न आवेदन दिने विद्यार्थीहरुको संख्या ४४ प्रतिशतले बढ्यो । यी दुईले विश्वविद्यालयको पहिलो सेमेस्टरमा भेटे तर विलियमले केटलाई एउटा साथीभन्दा बढी रुपमा कहिल्यै हेरेनन् जबसम्म केटले मार्च २६ २००२ मा पारदर्शी पहिरनमा फेशन शोमा मोडलिङ गरिनन् ।
लेसीले एल्लेसँग भने ‘उनी निकै रणनैतिक महिला थिइन् र उनले जे चाहिन् त्यो पाएरै छाडिन् । फेशन शोपछि यी दुईको डेटिङ सुरु भयो र एक समय उनीहरु साथमै बस्थे । २००४ र २००७ मा दुई पटक यी दुईको ब्रेकअप भएपछि पनि अन्ततः २०१० मा विलियमले केटलाई विवाहको लागि प्रस्ताव गरे । विलियमले आफू ३० वर्षको नहुँदासम्म विवाह गर्न चाहँदैनथे । तर, केटले उनलाई २८ वर्षको उमेरमै विवाह गर्न राजी गराइन् । अब केट बेलायतको राजगद्दीको दोस्रो दावेदार हुन् ।
बेलायतको राज परिवारको प्रमुख पदमा अहिले महारानी एलिजाबेथ छिन् । राष्ट्रप्रमुखको पदमा महारानी एलिजाबेथपछि प्रिन्स अफ वेल्सको पालो आउँछ । प्रिन्स अफ वेल्स महारानी एलिजाबेथका छोरा तथा राजकुमार विलियमका पिता राजकुमार चार्ल्स हुन् । राजकुमार चार्ल्स अहिले ७२ वर्षका छन् । नियमअनुसार राजकुमार चार्ल्सपछि राजगद्दीमा राजकुमार विलियमको पालो आउँछ । विलियम राजा बनेसँगै केट मिडल्टन महारानी हुनेछिन् ।







डिसी नेपाल








Facebook Comment