‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ सार्वजनिक

डिसी नेपाल
३० कार्तिक २०७७ १४:२२
64
Shares

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाको परिचय दिने पुस्तक ‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ प्रकाशन गरेको छ।

राज्य पुनर्संरचना भई तीन तहको सरकार बनेपछि स्थानीय सरकारका तर्फबाट आफ्नो क्षेत्रभित्रका सांस्कृतिक सम्पदाको परिचय पुस्तिका प्रकाशन गर्ने गोकर्णेश्वर नै पहिलो भएको नगर प्रमुख सन्तोष चालिसेले दाबी गरे। पुस्तक लोकार्पणका अवसरमा उनले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर महत्वपूर्ण रहेको बताए।

नगरपालिकाभित्रका धार्मिक केन्द्रको विकास एवं विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जनाएको छ । नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहर भएको बताए। संस्कृतिविद् प्रा डा ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतका वक्ताले संस्कृति तथा साहित्यको विकासविना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताए।

नगरपालिका धार्मिक समितिका संयोजक पण्डित दिवाकरप्रसाद भण्डारीको नेतृत्वमा पुस्तक सम्पादन गरिएको हो । कार्यक्रममा समितिका सहसंयोजक कुलप्रसाद पुडासैनी, नगरपालिका–५ का अध्यक्ष नाराणबहादुर सुवेदी, ६ का अध्यक्ष रमेश अर्याल, ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत वक्ताले नगर क्षेत्रमा रहेका विभिन्न धार्मिक गन्तव्यको विकासका लागि भइरहेका कामबारे प्रकाश पारेका थिए। दुई सय पृष्ठको पुस्तकमा नगरपालिकाको नौवटै वडामा रहेका सानाठूला सांस्कृतिक सम्पदाको विवरण समेटिएको छ। नगर क्षेत्रमा मनाइने विभिन्न जात्रा एवं पर्वको जानकारी पनि पुस्तकमा गराइएको छ । ती जात्रासँग सम्बन्धित केही तस्बीर पनि समावेश गरिएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.