नेपाल क्रिकेट टोलीले मंसिरमा नयाँ मुख्य प्रशिक्षक पाउने
काठमाडौं । मुख्य प्रशिक्षक विहीन रहेको करिब ९ महिना पछि नेपाली क्रिकेट टोलीले अन्तत मुख्य प्रशिक्षक पाउने भएको छ । गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहीन रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिरको दोस्रो सातसम्ममा नयाँ प्रशिक्षक घोषणा हुने जनाएको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वयमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ ।
केही महिना अघि क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आहवान गरेको थियो । क्यानको मुख्य प्रशिक्षकका लागि करिब १४ देशबाट ७२ जनाको आवेदन परेको थियो । जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, वेष्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्याण्ड लगायत अन्य देशहरु रहेका थिए । मुख्य प्रशिक्षकमा आवेदन दिनेमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके लगायत अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरको पनि नाम रहेको छ । पुबुदु नेपाल, क्यान्डा तथा अमेरिकाका पूर्व प्रशिक्षक हुन भने, हाइपर्फमेन्सका लागि नेपाल आईसकेका वाटमोर निकै अनुभवी प्रशिक्षक रहेका छन । उनले श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावेको मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका छन । हाल उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रहेका छन । मुख्य प्रशिक्षक पदका लागि आवेदन दिएका ७२ जना मध्ये पहिलो चरणमा २५ प्रशिक्षक छनोट गर्दै दोस्रो चरणमा अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छनोट भएको हो । अब अन्तर्वार्ता दिएका १२ मध्ये एक जना नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षक बन्नेछन् ।







डिसी नेपाल








Facebook Comment