विश्वमा कोरोना : अमेरिकामा अस्पतालमा बेडको अभाव, मृतकको संख्या २ लाख ५६ हजार बढी
नेवादा राज्यकाे रेनो शहरकाे एक अस्पतालमा वार्डमा बेड अभाव भएपछि कार पार्किङमा एक इमरजेंसी वार्ड बनाएर उपचार गरिँदै।
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख पुगेको छ। तीमध्ये तीन करोड ९३ लाख निको भएका छन् भने १३ लाख ५३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। अहिले १ करोड ५८ लाखको उपचार भइरहेको छ।
कोरोनाको चपेटामा सबैभन्दा धेरै अमेरिका परेको छ। अमेरिकामा अस्पतालमा बेडको अभाव हुन थालेको छ। अमेरिकामा हालसम्म कोरोनाका कारण २ लाख ५६ लाख भन्दा धेरैको ज्यान गइसकेको छ।
द गार्डियनको एक रिपोर्टका अनुसार अमेरिकाका केही राज्यमा कोरोना भाइरस नियन्त्रण बाहिर गएको छ। संक्रमितको संख्या बढिरहेको छ भने मृत्युदर पनि नियन्त्रण बाहिर गएको देखिन्छ। बुधबारसम्म अमेरिकामा २ लाख ५६ हजारको मृत्यु भइसकेको छ।
रिपोर्टका अनुसार ७७ हजार मानिस यतिबेला अस्पतामा भर्ना भएका छन्। नेवादा र मिशिगन जस्ता राज्यमा अवस्था निकै जटिल भएको बताइएको छ। नेवादाको रेनो शहरका अस्पतपाल संक्रमित यति धेरै बढेका छन् कि अस्पतालको पार्किङमा वार्ड बनाएर संक्रमितको उपचार गरिँदैछ।
अमेरिकामा मृतकको संख्या बढिरहे पनि ट्रम्प प्रशासनले त्यसलाई गम्भीरता पूर्वक लिएको देखिँदैन। अमेरिकामा एक हप्ताभित्र झण्डै १५ लाख संक्रमित थपिएका छन्। सरकारले राम्रो काम गर्न नसकेको भन्दै ट्रम्पको आलोचना सुरुदेखि नै हुँदै आएको छ।
केही दिन अगाडि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘अमेरिकामा कोरोनबाट मृत्यु हुनेको संख्या पहिला भन्दा धेरै हुन सक्छ। हामीले कडा फैसला गर्न ढिला गर्नु हुँदैन।’
अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या विश्वमा सबैभन्दा धेरै छ। बुधबार न्युयोर्क सिटी प्रशासनले फेरि लकडाउन गर्ने संकेत गरेको छ। स्कुल, होटल, रेस्टुरेन्ट तथा बार बन्द गरिएको छ। मिनेसोटामा पनि लकडाउन लगाउन सकिने बताइएको छ।







डिसी नेपाल








Facebook Comment