३० पाउण्डको त्यो पारदर्शी पहिरन जसले बेलायती राजपरिवारको इतिहास बदलिदियो
काठमाडौं। मार्च २७, २००२ । यो त्यो दिन थियो जुन दिन बेलायती राज परिवारको इतिहास बदलिएको थियो । हजुरआमा महारानी एलिजाबेथ, पिता राजकुमार चार्ल्सपछि बेलायतको रागद्दीको उत्तराधिकारी राजकुमार विलियमको जीवनको टर्निङ प्वाइन्ट बनेको त्यो घटना वेल्सको सेन्ट एन्ड्रयुज युनिभर्सिटीका विद्यार्थीको च्यारिटी फशेन शोका क्रममा घटेको थियो । यो फेशन शो फेयरमोन्ट सेन्ट एन्ड्रयुज होटलमा भएको थियो ।
२० वर्षकी केट मिडलटन पारदर्शी पहिरनमा क्याटवाकमा उभिइन् । त्यो पहिरन, जसको मूल्य मात्रै ३० पाउण्ड थियो, त्यसले राजकुमार विलियमलाई केट मिडलटनप्रति आकर्षिक गर्न ठूलो भूमिका निभायो । ३० पाउण्डको यो पारदर्शी पहिरनले एउटा यस्तो प्रेमकथाको सुरुवात गर्यो जसले केट मिडलटनलाई बेलायतको राजगद्दीको उत्तराधिकारीको रुपमा उभ्यायो । त्यसै दिन राजकुमार विलियमले केटसँग क्याण्डललाइट डिनरका लागि २ सय पाउण्ड तिरे र पछि उनले त्यो पैसा सही ठाउँमा खर्च भएको प्रतिक्रिया दिएका थिए ।
डेलीमेलका अनुसार त्यो समयमा १९ वर्षका राजकुमार विलियमकी अर्की गर्लफ्रेण्ड थिइन् र केटले पनि अर्का एक युवकसँग डेटिङ गरिरहेकी थिइन् । राजकुमार विलियम सेन्ट एन्ड्रयुजमा जाँदा उनकी कार्ले मेसी बिर्च नामकी गर्लफ्रेण्ड थिइन् । उनी विलियमभन्दा १ कक्षा सिनियर थिइन् । त्यही समयमा केटको चौथो वर्षका कानुनका विद्यार्थी रुपर्ट फिन्चसँग प्रेम थियो । साथहिरुले उनलाई केटको लागि सुहाउँदो जोडी भन्थे । तर, त्यो फेशन शोले सबै फेरिदियो ।
हुन त केटले योजनाबद्ध रुपमा राजकुमार विलियमलाई माध्यम बनाउँदै बेलायतको राजपरिवारमा पुगेको र यो उनको प्रेम भन्दा पनि रणनीति भएको समेत दावी गरिन्छ । तर, त्यो फेशन शोमा सहभागी केट र विलियमका अन्य साथीहरुका अनुसार त्यो फेशन शोमा अधिकांश युवतीहरु राजकुमार विलियमलाई प्रभावित पार्नेतर्फ नै केन्द्रित थिए । इङल्याण्डकी महारानी बन्ने लाइनमा पुग्नु सामान्य कुरा नभएकाने र त्यसको लागि युवतीहरुको प्रतिस्पर्धा हुनु सामान्य भएको विश्वविद्यालयमा केट र विलियमका साथीहरु नै मान्छन् ।
बेलायती राजपरिवारको इतिहासका ज्ञाता रोबर्ट लेसीले आफ्नो पुस्तक ‘ब्याटल अफ ब्रदर्सः विलियम एण्ड ह्यारी – द इनसाइड स्टोरी अफ अ फेमिली इन टमल्ट’मा केट रणनैतिक रुपमा बेलायतको राजपरिवारमा पुगेको र उनको रणनीति सेन्ट एन्ड्रयुज विश्वविद्यालयमै सुरु भएको दावी गरेका छन् । लेसीका अनुसार त केटको त्यो पारदर्शी पहिरन उनको रणनीतिकै एउटा अस्त्र थियो जुन उनले राजकुमार विलियममाथि चलाएकी थिइन् र त्यो अस्त्रले काम गर्यो ।
लेसीका अनुसार केटले विलियमसँग भेट्नु संयोग थिएन । तर विलियमलाई जित्ने दौडमा उनी एक्लै थिइनन्, त्यहाँ कडा प्रतिस्पर्धा थियो । विलियमले स्कटल्याण्डमा रहेको सेन्ट एन्ड्रयुजमा पढ्ने खबर बाहिरिएपछि त्यहाँ पढ्न आवेदन दिने विद्यार्थीहरुको संख्या ४४ प्रतिशतले बढ्यो । यद्यपि त्यो प्रतिस्पर्धामा केटले जितिन् । २०१० मा विलियमले केटलाई विवाहको लागि प्रस्ताव गरे । विलियमले आफू ३० वर्षको नहुँदासम्म विवाह गर्न चाहँदैनथे । तर, केटले उनलाई २८ वर्षको उमेरमै विवाह गर्न राजी गराइन् । अब केट बेलायतको राजगद्दीको दोस्रो दावेदार हुन् ।
बेलायतको राज परिवारको प्रमुख पदमा अहिले महारानी एलिजाबेथ छिन् । राष्ट्रप्रमुखको पदमा महारानी एलिजाबेथपछि प्रिन्स अफ वेल्सको पालो आउँछ । प्रिन्स अफ वेल्स महारानी एलिजाबेथका छोरा तथा राजकुमार विलियमका पिता राजकुमार चार्ल्स हुन् । राजकुमार चार्ल्स अहिले ७२ वर्षका छन् । नियमअनुसार राजकुमार चार्ल्पछि राजगद्दीमा राजकुमार विलियमको पालो आउँछ । विलियम राजा बनेसँगै केट मिडल्टन महारानी हुनेछिन् ।







डिसी नेपाल








Facebook Comment