ब्याडलकको हद ! एउटै व्यक्तिलाई मलेरिया, डेंगु र कोरोना, उनैलाई कोबरा सर्पले टोक्यो

डिसी नेपाल
८ मंसिर २०७७ १३:३०
9.5k
Shares

काठमाडौं। मानिस अभागी हुने पनि हद हुन्छ । तर, एक जना व्यक्तिलाई उनको खराब भाग्यले अझै पिछा छोडेको छैन । उनले लगातार पीडामाथि पीडा खेपीरहेका छन् । च्यारिटीको काम गर्ने यी बेलायती नागरिकले कोरोनाभाइरस, डेंगु र मलेरियालाई जिते । तर, उनलाई फेरि सर्पले टोक्यो । अहिले उनी सम्भावित घातक सर्पको डसाइको उपचार गराएर स्वास्थ्यलाभ गरिरहेका छन् । उनी अहिले भारतको राजस्थानमा छन् ।

इयान जोन्स नामका ती व्यक्तिलाई भारतीय गोब्राले राजस्थानको जोधपुरमा हुँदा टोकेको र उनी जोधपुरमै एक अस्पतालमा उपचारका लागि भर्ना भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘गाउँमा सर्पले टोकेपछि जोन्स हामीकहाँ गत हप्ता आएका हुन् । सुरुमा हामीले उनलाई कोभिड–१९ पनि भएको (दोस्रो पटक) आशंका गरेका थियौं तर कोभिडको नतिजा भने नेगेटिभ आयो’ जोन्सको उपचार गरेका स्थानीय मेडिपल्स अस्पतालका डा. अभिषेक तातरले एएफपीसँग भने ।

‘हामीकहाँ आइपुग्दा उनी होसमै थिए र उनीमा सर्पले टोकेको लक्षण देखिएको थियो । उनको दृष्टि धमिलो भएको थियो र हिँड्न कठिन भएको थियो । तर, यी सामान्यतया अस्थायी लक्षण हुन्’ डा. तातरले थपे । जोन्सलाई अस्पतालबाट भने डिस्चार्ज गरिएको छ । ‘हामीलाई अब कुनै लामो समयसम्म रहने असर हुँदैन भन्ने भएपछि डिस्चार्ज गरेका हौं । उनी ठिक भइसकेका छैनन् भने पनि अबका केही दिनमा पूर्ण ठिक हुन्छन्’ डा तातरले भने ।

‘ड्याड एक फाइटर हुनुहुन्छ । भारत गएपछि उहाँ पहिले मलेरिया र डेंगुबाट ग्रस्त हुनुभयो त्यसपछि उहाँलाई कोभिड १९ पनि भयो’ उनका छोरा सेब जोन्सले गो फण्ड मीमा एक वक्तव्यमा भनेका छन् । उनका छोरा सेबले उनको उपचारको बिल तिर्न र उनलाई पुनः इङल्याण्ड फर्काउनको लागि पैसाको अभाव भएपछि पैसा जुटाउन यो पेज सुरु गरेका हुन् । जोन्स लकडाउनभन्दा ठिक अघि भारत आएका थिए । लगत्तै लकडाउन भयो । लकडाउनपछिको अवधिमा जोन्सले मलेरिया, डेंगु, कोरोनाभाइरस र सर्पको डसाइ सहिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.