छानो फुटाएर आएको करोडौं बराबरको धन पाएनन् युवकले, केवल धोका मात्रै पाए
काठमाडौं। केही दिनअघि मात्र इण्डोनेसियाका एक युवकको घरको छाना फुटाउँदै खसेको उल्कापिण्डको टुक्रा १.८५ मिलियन डलर (झण्डै २१ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको समाचार सार्वजनिक भएको थियो । यससँगै अन्तर्राष्ट्रिय मिडियामा ३४ वर्षका ती गरिब युवक करोडपति भएको भन्दै समाचार आएको थियो । तर, ती युवकले आफू करोडपति नभएको बताएका छन् । उनले द जाकार्ता पोस्टसँग कुरा गर्दै आफूले यति ठूलो रकम नपाएको बरु धोका पाएको बताएका छन् ।
जोसुआ हुतागालुङका अनुसार उनले त्यो ढुंगा २०० मिलियन रुपी (१७ लाख नेपाली रुपैयाँ) मा मात्र बिक्री गरेका थिए । उनले त्यो ढुंगाको मूल्य आफूले पाएको मूल्यको सय गुणाभन्दा धेरै भएको पछि मात्रै थाहा पाएका थिए । उनले आफूले त्यो ढुंगा त्यति सस्तोमा बेच्नु परेकोमा आफूले धोका पाएको महसुस भएको बताएका छन् । उनले त्यो ढुंगा अमेरिकी उल्कापिण्ड विशेषज्ञ जारेड कोलिन्सलाई बेचेका थिए ।
जोसुआका अनुसार उनीसँग अहिले त्यो ढुंगा बेचेर आएको २०० मिलियन रुपी पनि छैन । उनले त्यो पैसा परिवार र अनाथहरुलाई सहयोग गर्न, एउटा चर्च बनाउन, मातापिताको चिहान मर्मत गर्न खर्च गरिसकेका छन् । जोसुआका अनुसार १ अगष्टको दिन त्यो ढुंगा उनको छानो फुटाउँदै आएको थियो । भुइँमा खसेको त्यो ढुंगा तातो थियो र भुइँमा १५ सेन्टिमिटर धसिएको थियो । उनले यो ढुंगाबारे फेसबुकमा एउटा पोस्ट शेयर गरेका थिए । लगत्तै उनको पोस्ट भाइरल भएको थियो ।
त्यसको २ दिनपछि एक स्थानीयले उनलाई १ बिलियन रुपी दिने प्रस्ताव गरेका थिए तर जोसुआले उनलाई वास्ता गरेनन् किनकि उनी गम्भीर देखिँदैनथे । ती स्थानीयले हल्का रुपमा प्रस्ताव गरेकोले आफूले अस्वीकार गरेको जोसुआले बताए । २ हप्तापछि कोलिन्स बालीबाट जोसुआलाई भेट्न पुगेका थिए । उनले जोसुआलाई २०० मिलियन रुपी प्रस्ताव गरे । जोसुआले अस्वीकार गरेपछि कोलिन्सले जोसुआको भत्किएको छानो मर्मत गर्न भन्दै १४ मिलियन थपिदिए । त्यसपछि जोसुआले त्यो ढुंगा कोलिन्सलाई बेचेका थिए ।







डिसी नेपाल








Facebook Comment