शेयर बजार लगातार नयाँ उचाइँमा
काठमाडौं। तिहार बिदापछि लगातार उकालो लागेको शेयर बजार नयाँ उचाइँमा पुगेको छ। साताको अन्तिम दिन विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८.४३ अंकले बृद्धि भई रेकर्ड कायम गरेको छ।
नेप्से विहीबार १८९३.२४ अंकमा पुगेको छ। चार वर्षअघि २०७३ साल साउन १२ गते नेप्सेले १८८१.४५ अंकको रेकर्ड कायम गरेको थियो। त्यसपछि पुनः घट्दै ११ सयमा झरेको थियो।
विहीबार साढे ७ अर्वको कारोबार भई कारोबार रकममा पनि रेकर्ड कायम भएको छ।
यसअघि मङ्सिर ७ गतेको ६ अर्ब ९० करोड रुपैयाँको रेकर्ड तोड्दै नेप्सेमा बिहीबार सात अर्ब ६१ करोड ३० रुपैयाँको बराबरको कारोबार भएको छ। यसदिन २०१ कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर कारोबार भएको छ।
विहीबार विकास बैंक, होटल, व्यापार, जीवन बीमा, निर्जीवन बीमालगायतका समूहगत परिसूचक ओरालो लागे पनि बजारमा बाहुल्यता रहेको बैंकिङ समूह बृद्धिका कारण नेप्से बढेको छ। यसदिन बैंकिङ समूह ३७ अंकले बृद्धि भएको छ।
कोभिड–१९ को महामारीका कारण लगानीका अन्य क्षेत्रहरु सुस्ताउदा शेयर बजार भने लगातार उकालो लागेको छ।
व्यापारीहरुले आफूसँग रहेको रकम शेयर बजारमा लगाएकाले बजार बृद्धि भएको विश्लेषण गरिएको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाको व्याजदर सस्तो भएकाले समेत लगानीकर्ताहरु हौसिएको देखिन्छ।







डिसी नेपाल








Facebook Comment