‘थ्यांक्सगिभिङ डे’को सुरुवात किन र कसरी भयो ? टर्की नै खानुपर्ने संस्कार कसरी बस्यो ?
काठमाडौं। अमेरिकामा हिजो नोभेम्बर २६ मा ‘थ्यांक्सगिभिङ डे’ मनाइएको छ । यो दिन अमेरिकामा राष्ट्रिय विदा हुन्छ । हरेक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबारका दिन यो दिवस मनाइन्छ । यो दिवसको आधिकारिक सुरुवात सन् १६२१ मा भएको मानिन्छ । १६२१ मा प्लाइमाउथ कोलोनी अमेरिका आएर बस्ने वाम्पानोग अमेरिकीहरुले बाली भित्र्याएपछि उत्सव मनाएका थिए जसलाई पहिलो थ्यांक्सगिभिङ दिवस उत्सव मानिन्छ । सुरुवातमा यो दिवस कोलोनीहरुमा छुट्टाछुट्टै रुपमा मनाइन्थ्यो । सन् १८६३ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले यसलाई अमेरिकाको राष्ट्रिय दिवस घोषणा गरेका थिए ।
हिस्ट्री डटकमका अनुसार सेप्टेम्बर १६२० मा इङल्याण्डको प्लाइमाउथबाट १०२ जना मेफ्लावर नामको जहाजमा चढेर हिँडेका थिए । उनीहरु धार्मिक पृथकतावादीहरु थिए जसले आफ्नो धार्मिक आस्थालाई जोगाइराख्न नयाँ घरको खोजीमा हिँडेका थिए । केही नयाँ ठाउामा जमिन पाइने लोभमा हिँडेका थिए । उनीहरु हड्सन नदीको मुहानमा जान भनेर हिँडेका थिए तर ६६ दिनको यात्रापछि उनीहरु त्यहाँबाट धेरै उत्तर केप कोडमा पुगे । एक महिनापछि मेफ्लावरले मासाचुसेट्सको खाडी पार गर्यो र त्यसमा आएकाहरुले प्लाइमायथमा गाउँ बसाउन सुरु गरे ।
पहिलो कठोर हिउँदमा मेफ्लावरमा आएका सबै धेरैजसो समय जहाजमै बसे, उनीहरु चिसोले निकै प्रभावित भए, केही बिरामी भए अन्ततः आधा मात्र यात्रु वसन्तयामसम्म जीवित रहे । मार्चमा बाँकी रहेकाहरुकहाँ अबेनाकी नामका व्यक्ति आए । केही दिनपछि उनले अर्का एक व्यक्ति स्क्वान्तोलाई लिएर आए । स्क्वान्तोले ती सबैलाई मकै फलाउन, म्यापलको रुखबाट चोप निकाल्न, नदीमा माछा मार्न, विषालु बिरुवा चिन्न सिकाए । उनले नयाँ आएकाहरुलाई स्थानीय आदिवासी वाम्पानोगसँग पनि सहकार्य गराए ।
नोभेम्बर १६२१ मा ती यात्रुहरुले पहिलो बाली सफलतापूर्वक भित्र्याए । गभर्नर विलियम ब्राडफोर्डले यसको अवसरमा एक उत्सव आयोजना गरे । उनले यो उत्सवमा आफ्ना सहयोगी वाम्पानोग आदिवासीहरुसहितलाई निम्त्याए । यही उत्सवलाई पहिलो थ्यांक्सगिभिङ उत्सवको रुपमा मानिन्छ । यो उत्सव तीन दिनसम्म मनाइएको थियो । पहिलो थ्यांक्सगिभिङ उत्सवमा करिब ९० जना सहभागी भएको र उनीहरुले सकेजति चरा मारेर खाएको विश्वास गरिन्छ । त्यसपछि अर्को उत्सव १६२३ मा आयोजना गरिएको थियो । विस्तारै यो उत्सव वार्षिक रुपमा बाली स्याहारेपछि मनाउन थालियो ।
१८१७ मा न्योयार्क राज्यले पहिलो पटक थ्यांक्सगिभिङ दिवसलाई आधिकारिक रुपमा विदाको घोषणा गरेको थियो । १८६३ मा आइपुग्दा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनले थ्यांक्सगिभिङलाई आधिकारिक रुपमा राष्ट्रिय दिवस घोषणा गरे । उनैले थ्यांक्सगिभिङ दिवसलाई नोभेम्बरको अन्तिम बिहीबारका लागि तोकेका हुन् । त्यसपछि १९३९ सम्म यो दिवस यसैगरी मनाइयो । १९३९ मा तत्कालीन राष्ट्रपति फ्रेंकलिन डी रुजबेल्टले विदा १ हप्ताको बनाए । १९४१ मा रुजबेल्टले नयाँ कानुन पारित गरे जसअनुसार थ्यांक्सगिभिङ दिवस नोभेम्बरको चौथो बिहीबारका लागि तोकियो ।
अहिले अमेरिकी परिवारहरुमा थ्यांक्सगिभिङले अधिकांश धार्मिक मान्यता गुमाइसकेको छ । अहिले भने यो दिवस खाना बनाउने र परिवार तथा मित्रसँग बाँडेर खानेमा केन्द्रित भएको छ । अहिले टर्की चरा थ्यांक्सगिभिङको पर्यायवाची भइसकेको छ । तर, १६२१ मा पहिलो थ्यांक्सगिभिङका क्रममा यो चरा खाइएको थियो वा थिएन भन्ने निश्चित छैन । यद्यपि इतिहासमा उनीहरुले चरा मारेर खाएको भने उल्लेख छ तर त्यो चरा टर्की नै थियो वा थिएन निश्चित छैन । अहिले भने ९० प्रतिशत अमेरिकीहरुले यो चरा रोष्ट गरेर, बेक गरेर वा डीप फ्राइ गरेर खाने नेशनल टर्की फेडरेशनले जनाएको छ ।
पहिलो थ्यांक्सगिभिङमा उनीहरुले खाएको चरा टर्की भएको मान्यताका आधारमा अहिले पनि टर्कीलाई थ्यांक्सगिभिङको खानामा प्राथमिकताका साथ राखिन्छ तर त्यो चरा टर्की नै थियो भन्ने प्रस्ट छेन । केहीले त्यो चरा हाँस वा यस्तै प्रजातिको चरा हुन सक्ने पनि भनेका छन् । १९ औं शताब्दी सुरु भएपछि टर्की यस्ता उत्सवमा लोकप्रिय खानाको रुपमा अगाडि आएको हो । यस्ता उत्सवमा टर्की नै लोकप्रिय हुनुको पनि कारण छन् । पहिलो त्यो समयमा अमेरिकामा टर्की प्रशस्त थिए । अमेरिकामा युरोपसँग सम्पर्कको समयमा करिब १ करोट डर्की रहेको एक विशेषज्ञले अनुमान गरेका छन् ।
दोस्रो टर्की पालेर राखिने भएकोले पारिवारिक फार्ममा जतिबेला पनि उपलब्ध हुन्थे । सहजै उपलब्ध हुने भएकोले पनि यो चराले यस्ता उत्सवमा प्राथमिकता पायो । हुन त त्यतिबेला गाई र कुखुराहरु पनि पालिन्थे तर उनीहरु दूध वा अण्डाको लागि पनि प्रयोग हुन्थे । तर, टर्की मासुकै लागि मात्र पालिने भएकोले उत्सवहरुमा मासुको लागि टर्की नै रोजियो । तेस्रो कारण हो एउटा टर्की औसत अमेरिकी परिवारको लागि पुग्ने हुन्छ । एउटा टर्कीले परिवारलाई ठिक्क हुने भएपछि पनि यस्ता उत्सवमा टर्की नै प्राथमिकतामा पर्न थाल्यो ।







डिसी नेपाल








Facebook Comment