भोकको मारमा अमेरिका, बाँच्नको लागि सुपरमार्केटमा खानेकुरा चोर्ने क्रम अत्याधिक
काठमाडौं। अमेरिकामा पसलबाट सामान चोरी गर्ने क्रम बढेको छ । महामारीका कारण रोजगारी गुमाएपछि लाखौं अमेरिकीहरु अहिले आर्थिक अभावसँग जुधिरहेका छन् । र, उनीहरुले बाँच्नको लागि अरु कुनै विकल्प नपाएपछि चोरी गर्न थालेका छन् । वाशिङटन पोस्टका अनुसार महामारीको सुरुवाती चरणमा अमेरिकाका सुपरमार्केटमा चोरी हुने क्रम बढ्न थालेको थियो । अहिले ती सुपरमार्केटहरुले चोरी गर्नेहरुलाई समाउन सुरक्षामा कडाइ गरेका छन् र थप सतर्कता अपनाएका छन् । तर, चोरीको क्रम भने झनै बढेको छ । महामारीको सुरुवाती चरणमा भन्दा अहिले चोरी हुने क्रम दोब्बरभन्दा बढी भएको छ ।
महामारीको सुरुवातमा वाशिङटन डाउनटाउनमा सुपरमार्केट संचालन गर्ने जू पार्कले दिनमा कम्तीमा एक जनाले चोरी गरेको भेट्थे । कसैले मासुको प्याकेट, कसैले चामलको ब्याग वा अन्य खानेकुरा सर्टभित्र, ज्याकेटभित्र लुकाउँथे । डाइपर, स्याम्पू, डिटरजेन्ट पनि ठूलो संख्यामा हराउन थालेका थिए । त्यसपछि अहिलेसम्म आइपुग्दा उनले आफ्नो सुपरमार्केटमा प्रवेश गेटमै थप कर्मचारी राखेका छन् । पसलमा आउने ग्राहकले झोलदा लिएर भित्र जान पाउँदैनन् । धेरै चोरी हुने सामानहरु चोरी गर्न अप्ठ्यारो हुने ठाउँमा राखिएका छन् । तर, यति धेरै सजगता अपनाउँदा पनि चोरी हुने क्रम भने दोब्बरले बढेको छ ।
पार्कले हत्तपत्त पुलिस बोलाउँदैनन् । चोरी गरेर पनि स्वीकार नगर्ने र भाग्न खोज्नेहरुको हकमा मात्र पुलिस बोलाउँछन् । अरु चोरी गर्नेहरुलाई भने सामान फिर्ता लिएर छाडिदिन्छन् । ‘महामारीको क्रममा परिस्थिति झनै कठिन भएको छ’ उनले भने ‘मानिसहरुले म भोको थिएँ भन्छन् । त्यसपछि के नै गर्न सकिन्छ र ?’ कोरोनाभाइरसको कारण बेरोजगारी उच्च भएको छ र आर्थिक अनिश्चितताको स्थिति छ । महामारीको सुरुवातमा दशौं लाख अमेरिकीहरुलाई सरकारले दिएको सहयोगले गरिबीको चपेटामा पुग्नबाट बचायो । तर, अहिले त्यो सहयोग बन्द भएको लामो समय भइसकेको छ ।
संसदले पारित गरेको नयाँ सहयोगको कार्यक्रम कहिले आउने हो निश्चित छैन । तर, भोक सत्य हो र यो कैयौं दशकमा नदेखिएको स्थितिमा पुगेको छ । र, यसले यस्ता अमेरिकीको समूह बढाइरहेको छ जसले बाँच्नको लागि खाना चोरी गरिरहेका छन् । दर्जनभन्दा बढी खुद्रा बिक्रेता, सुरक्षा विशेषज्ञ र पुलिस विभागसँगको कुराकानीले के देखाउँछ भने गएको बसन्तमा महामारीले ठूलो रुप लिएपछि चोरीको क्रम बढेको छ र यो यसअघिको आर्थिक मन्दीको समयमा भन्दा पनि उच्च छ । तर, यसमा ध्यान दिइनुपर्ने कुरा चोरीको प्रवृत्ति हो । चोरी गर्नेहरुले बहुमूल्य सामान भन्दा पनि दैनिक उपभोग्य सामानहरु चोरी गरिरहेका छन् ।
ठूलो संख्यामा अमेरिकीहरु भोकको मारमा परिरहेका छन् । अमेरिकीहरुलाई एउटा कठोर हिउँदको लागि तयार रहन भनिएको छ किनकि संक्रमण उच्च दरमा बढिरहेको छ र आर्थिक सुधार ठप्प छ । करिब २ करोड अमेरिकीले कुनै न कुनै रुपमा बेरोजगारी सहायताको भरमा गुजारा गरिरहेका छन् । र, करिब १ करोड २० लाख अमेरिकीहरुले नयाँ सहयोग कार्यक्रम नल्याइए अहिलेसम्म पाइरहेको सहायता क्रिसमसपछि गुमाउनेछन् । यद्यपि संसदहरुले यो हप्ता ९०८ बिलियन डलरको नयाँ कार्यक्रम ल्याएका छन् र यसको लाभ कसले कसरी पाउने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
पछिल्लो अनुमानअनुसार यस वर्ष ५ करोड ४० लाख अमेरिकीले भोकसँग संघर्ष गर्नुपर्नेछ । अमेरिकाको कृषि विभागका अनुसार यो २०१९ को तुलनामा ४५ प्रतिशत बढी हो । अमेरिकी सरकारका एसएनएपी र डब्लुआइसी जस्ता खाद्य सहयोग कार्यक्रम घट्दो क्रममा छन् र अन्य संघीय सहयोग कार्यक्रमको पनि अवधि समाप्त हुने संघारमा छ । फूड बैंकहरुमा मानिसहरुले घण्टौंसम्म लाइनमा बसेर पर्खनुपरेको छ र त्यहाँ पनि सामानको अभाव छ ।
अमेरिकाका फूड बैंकहरुलाई अरबौं डलरका ताजा तरकारी, दूध, मासु लगायत उपलब्ध गराउने संघीय सरकारका कार्यक्रमहरुको म्याद यो वर्षको अन्त्यसँगै समाप्त हुँदैछ । यीमध्ये सबैभन्दा ठूलो कार्यक्रम फार्मर्स टु फेमिली फूड बक्सले महामारीको क्रममा १२ करोड खानेकुराका बक्स वितरण गरेको थियो तर देशका विभिन्न भागमा यो कार्यक्रम अनुदानको अभावमा बन्द हुने स्थितिमा छ । ४ अर्ब ५० करोड डलरको ट्रम्प फूड कार्यक्रमकोपनि पैसा सकिएको छ र पैसाको अभावमा यो बन्द भएमा करोडौं अमेरिकी भोकै पर्नेछन् ।
अमेरिकामा अहिले दैनिक १ लाख ५० हजार कोरोनाभाइरस संक्रमितहरु थपिँदैछन् । अमेरिकाका कैयौं क्षेत्रमा भाइरस प्रसार रोक्न पुनः लकडाउन र अन्य प्रतिबन्धहरु लगाइँदैछ । क्यालिफोर्नियाको अधिकांश क्षेत्रमा घरमै बस्न आदेश दिइएको छ । नेवादा, पेन्सलभेनिया, मेरिल्याण्ड लगायतका राज्यमा कुनै पनि ठाउँमा बस्न पाउने अधिकतम मानिसको संख्या तोकिएको छ । यस्ता प्रतिबन्धले रेष्टुरेण्ट, बार, खुद्रा पसल लगायतमा काम गर्न न्यून आए भएका कामदार बेरोजगार हुनुपरेको छ ।







डिसी नेपाल








Facebook Comment