ज्यामीसनले घातक बलिङ गर्दा वेस्टईन्डिज फलोअनको संघारमा
काठमाडौं । न्युजिल्यान्डको वेलिङटनमा जारी वेस्टईन्डिज र न्युजिल्यान्ड बीचको टेस्ट खेलमा वेस्टईन्डिज फलोअनको संघारमा पुगेको छ । दोस्रो टेस्टको दोस्रो दिनको खेलमा घरेलु टोलीका बलर काइल ज्यामीसनले घातक बलिङ गर्दै महत्वपूर्ण ५ विकेट लिएपछि पाहुन टोली फलोअनको संघारमा पुगेको हो । दोस्रो दिनको खेल सकिदा वेस्टईन्डिजले ८ विकेट गुमाएर १२४ रन बनाएको छ । न्युजिल्यान्डले पहिलो पारीमा ४६० रन बनाएको थियो । वेस्टईन्डिज फलोअनबाट बच्न १३६ रन टाढा रहेको छ तर टोलीसँग मात्र २ विकेट बाकि रहेको छ ।
अहिले सम्म खेलेको कुल ५ टेस्टमा ज्यामीसनले दोस्रो पटक ५ विकेट लिएका हुन । यसका साथै उनले एक अर्धसतक र दुई पटक ४० भन्दा बढि रन बनाएका छन । खेलको पावरप्लेमा उनले लगातार २ बलमा वेस्टईन्डिजको २ विकेट लिएर ह्याट्रिकबाट चुके । ह्याट्रिक बलमा उनले एलबिडब्लुको जोडदार अपिल गर्दा अम्पायरले उनको अपिल खारेज गरेको थियो । ज्यामीसनले जर्मन ब्लायाक उड र शमारा बु्रक्स बीचको ६८ रनको साझेदारी तोडेका थिए । त्यसपछि उनले वेस्टईन्डिजका कप्तान जेसन होल्डर (९), अलजारी जोसेफको विकेट लिदै ब्यक्तिगत ५ विकेट पुरा गरेका थिए । पहिलो टेस्टमा सतक बनाएका ब्लायाक उडले ज्यामीसनलाई ह्याट्रिक गर्न दिएनन । उनले एक पटक पुनः शानदार ब्याटिङ गर्दै ६९ रन बनाए । यसअघि टिम साउदीले शिर्ष क्रमका खेलाडीहरु क्रेग ब्रेथवेट र डेरेन ब्राभोको विकेट लिदा वेस्टईन्डिजको सुरुवात राम्रो हुन सकेन । हिजो वेस्टईन्डिजको स्कोर १६ ओभरमा २९ रन ३ विकेट थियो । यसअघि हेनरी निकोल्स र निल वेगनरले ९ औं विकेटका लागि ९५ रनको साझेदारी बनाउदै न्युजिल्यान्डको २९४ रनको स्कोरबाट ४६० को स्कोरमा उकासेका थिए । निकोल्स १७४ रन बनाएर आउट भएका थिए । यो उनको टेस्ट करियरकै सर्वाधिक उच्च स्कोर हो । यसअघि उनले श्रीलंका बिरुद्वको खेलमा १६२ रन बनाएका थिए । निल वेगनर ६६ रन बनाएर आउट भए । टेस्ट क्रिकेटमा यो उनको पहिलो अर्धसतक हो । आफ्नो पारीमा उनले आठ चौका र ५ छक्का प्रहार गरे । हेनरी निकोल्स विल यंगसँग ७०, बीजे वाटलिङसँग ५५, डेरिल मिशेलसँग ८३ र ज्यामीसनसँग ५० रनको साझेदारी गरेका थिए ।







डिसी नेपाल








Facebook Comment