गौतम बुद्ध कपः जितेन्द्र र अविनाशको उत्कृष्ट बलिङमा राप्तीको जित

डिसी नेपाल
२८ मंसिर २०७७ १४:५८
152
Shares

काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप टी २० क्रिकेटमा राप्तीले वाग्मतीलाई १२ रनले पराजित गरेको छ । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा टस हारेर ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १२९ रन बनायो । राप्तीका लागि अमित श्रेष्ठ (२६), शरद भेषवाकर र कप्तान बिनोद भण्डारीले समान २१–२१, लोकेश बम (१५), कमल सिंह एरीले (१६) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा वाग्मतीका सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २–२ विकेट तथा ललित राजवंशी र बिक्रम सोबले १–१ विकेट लिए ।

एक सय ३० रनको लक्ष्य लिएर मैदानमा आएको वाग्मती टोली निर्धारित २० ओृभरको खेलमा १९.४ ओभर खेल्दै अलआउट भयो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल ११ रनको ब्यक्तिगत स्कोरमा आउट हुदा वाग्मतीले २० रनको स्कोरमा पहिलो विकेट गुमायो । २५ रनको स्कोरमा वाग्मतीले सुनिल धमला लाई दोस्रो विकेटको रुपमा गुमायो । धमला ११ रनको ब्यक्तिगत स्कोरमा कमलको बलमा आउट भए । दुबै विकेट कमल सिंह एरीले लिए । तेस्रो विकेट ६२ रनको स्कोरमा अनिल शाहको रुपमा वाग्मतीले गुमायो । अनील २२ रनको ब्यक्तिगत स्कोरमा भुवन सिंह कार्किको बलमा कमल सिंह एरीको हातबात क्याच आउट भए । अनिल आउट भए लगतै चौथो विकेटको रुपमा रोहित पौडेल आउट भए । उनी १३ रनको ब्यक्तिगत स्कोरमा सुर्य तामाङको बलमा विकेट किपर तथा कप्तान बिनोद भण्डारीको हातबाट क्याच आउट भए । १३.५ ओभरमा ५ औं विकेटको रुपमा भिम सार्कि मात्र चार रनको ब्यक्तिगत स्कोरमा आउट हुन पुगे । वाग्मतीको छैठौं विकेटका रुपमा सोमपाल कामी आउट भए । उनलाई भुवन कार्किले ३५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे । १८ ओभरको चौंथो बलमा खेलमा राम्रो ब्याटिङ गरिरहेका बिक्रम शोब अविनाश बोहराको बलमा क्याच आउट भए लगतै आठौं विकेटको रुपमा पवन सर्राफ बोल्ड भए । अविनाशको लगातार दुई विकेटसँगै वाग्मती टोली दबाबमा आयो । नवौं विकेटको रुपमा ब्याटिङ गर्न आएक रशिद खानबाट वागमती टोलीले आशा गरेपनि उनी जितेन्द्र मुखियाको शिकार बने । अन्तिम विकेटको रुपमा सागर ढकाल पनि मुखियाकै शिकार बने । यो सँग वाग्मती ११८ रनमा समेटियो र राप्तीले खेल १२ रनले जित्यो । बलिङमा राप्तीका लागि जितेन्द्र मुखिया, अविनाश बोहोरा, कमल सिंह एरी, भुवन कार्किले समान २ विकेट तथा सोनु तामाङले एक विकेट लिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.