अमेरिकामा भोलि बाइडेनको ह्वाइट हाउस प्रवेश र ट्रम्पको बहिर्गमनको निर्णय हुँदै
काठमाडौं। तीन नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचन भयो । निर्वाचनमा जो बाइडेनले जिते र डोनाल्ड ट्रम्पले हारे । तर, अझै पनि जो बाइडेन राष्ट्रपति भइसकेका छैनन् किनकि अमेरिकामा राष्ट्रपति निर्वाचन प्रक्रिया जटिल छ । त्यसैले बाइडेनलाई अहिलेसम्म प्रेसिडेन्ट इलेक्ट भनिएको छ र आधिकारिक रुपमा निर्वाचन परिणामको घोषणा ६ जनवरीमा हुनेछ । यसअघि सबैभन्दा महत्वपूर्ण चरण इलेक्टोरल कलेज भोटिङ हो र यो भोटिङ भोलि अर्थात १४ डिसेम्बरमा हुँदैछ ।
इलेक्टोरल कलेजका विषयमा सधैं बहस हुँदै आएको छ । हालै ग्यालपले गरेको एक सर्वेक्षणमा ६१ प्रतिशत अमेरिकीहरुले इलेक्टोरल कलेजको विरोध गरेका थिए । उनीहरुले राष्ट्रपतिको चुनाव इलेक्टोरल कलेजबाट नभइ पपुलर भोटबाट हुनुपर्ने माग गरेका थिए । इलेक्टोरल कलेज एक किसिमको निर्वाचक मण्डल हो । यो निर्वाचक मण्डल जनप्रतिनिधिहरुको एक समूह हो । यही समूहले अमेरिकाको राष्ट्रपति छान्छ ।
इलेक्टोरल कलेज के हो ?
इलेक्टोरल कलेजबारे बुझ्न हालै भएको राष्ट्रपति निर्वाचनको सहारा लिन सकिन्छ । निर्वाचनमा डोनाल्ड ट्रम्प रिपब्लिकन र जो बाइडेन डेमोक्रेट पार्टीका तर्फबाट उम्मेदवार थिए । निर्वाचनमा प्रयोग गरिएको मतपत्रमा डोनाल्ड ट्रम्पको नामको साथमा र जो बाइडेनको नामको साथमा अर्का एक–एक जना व्यक्तिको नाम थियो । खासमा राष्ट्रपति उम्मेदवारको नामको साथमा भएको अर्को नाम इलेक्टरको हो । मतदाताले राष्ट्रपतिसँगै एक जना इलेक्टर पनि छानेका थिए ।
अमेरिकामा कूल ५ सय ३८ इलेक्टोरल छन् । यी इलेक्टोरललाई हाम्रो नेपालको निर्वाचन क्षेत्रजस्तै मान्न सकिन्छ । राष्ट्रपति निर्वाचनमा मतदाताले राष्ट्रपति पदका उम्मेदवारसँगै १–१ जना इलेक्टरलाई पनि मत दिएका छन् । देशैभरी एउटा पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार एउटै भए पनि इलेक्टर भने हरेक इलेक्टोरलमा फरक फरक थिए । मतदाताले मतदानमार्फ ५ सय ३८ जना इलेक्टर पनि छानेका छन् ।
यिनै इलेक्टरहरुले १४ डिसेम्बरमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नेछन् । सजिलो गरी बुझ्दा अमेरिकी नागरिकले ट्रम्प र बाइडेनलाई मत दिएका भए पनि उनीहरुले सिधै आफ्नो राष्ट्रपति छानेका होइनन् । मतदाताले सिधै दिएको भोट पपुलर भोट हो भने इलेक्टरलाई दिएको भोटको आधारमा इलेक्टर निर्वाचित भएका छन् । मतदाताले राष्ट्रपति पदका उम्मेदवारलाई सिधै भोट दिएको भए पनि त्यो भोटले मात्रै राष्ट्रपतिले चुनाब जित्दैनन् ।
धेरैजसो निर्वाचनमा राष्ट्रपति पदको निर्वाचन जित्ने उम्मेदवारले नै पपुलर भोट पनि धेरै पाउँछन् जस्तो कि अहिले जो बाइडेनले पपुलर भोट धेरै पाएका छन् तर केही निर्वाचनमा भने यस्तो भएको छैन । उदाहरणका लागि २०१६ मा डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी हिलारी क्लिन्टनको तुलनामा कम पपुलर भोट पाएका थिए । यस्तै सन् २००० मा जर्ज डब्लु बुशले पनि पपुलर भोट कम पाएका थिए । तैपनि उनीहरुले राष्ट्रपति पदको चुनाब जिते । ती दुवै निर्वाचनमा इलेक्टोरलले बुश वा ट्रम्पलाई जिताएका थिए ।
अहिलेको निर्वाचनमा पनि बाइडेनले चुनाब जितिसकेका छैनन् र उनले निर्वाचन हार्न पनि सक्छन् । यदि भोलि हुने मतदानमा २७० इलेक्टोरलले ट्रम्पलाई भोट दिए भने ट्रम्प नै राष्ट्रपति बन्नेछन् । तर, यस्तो हुने सम्भावना भने न्यून हुन्छ । किनकि राष्ट्रपतिसँगै ५३८ इलेक्टोरलमा जो इलेक्टरको लागि चुनाब लड्छन् उनीहरु राष्ट्रपति पदका उम्मेदवारकै पार्टीका सदस्य हुन्छन् । र, उनीहरुले अर्को पार्टीको उम्मेदवारलाई भोट दिन्छन् भन्ने कुरा सैद्धान्तिक रुपमा मान्न सकिने भए पनि व्यवहारिक रुपमा त्यस्तो हुँदैन ।
नेपालकै उदाहरण दिएर बुझ्ने हो भने हामीकहाँ पनि सांसदहरुले मतदान गरेर राष्ट्रपति छान्ने हो । यसरी संसदमा मतदान हुँदा नेकपाका सांसदले कांग्रेसको उम्मेदवारलाई वा कांग्रेसका सांसदले नेकपाका उम्मेदवारलाई भोट दिँदैनन् । अमेरिकाको हकमा पनि यही लागू हुन्छ । बाइडेनले ३०६ इलेक्टोरलमा चुनाब जितेका छन् भन्नुको अर्थ ती ३०६ जना इलेक्टर बाइडेनको पार्टी डेमोक्रेटका हुन् । ट्रम्पका इलेक्टर २३२ जना मात्र छन् । यही आधारमा भोलिको मतदानमा बाइडेनले जित्छन् भन्ने मानिएको छ ।







डिसी नेपाल








Facebook Comment