अमेरिकाको जेलबाट छुटेका ओसामा बिन लादेनका प्रवक्ता मानिने आतंकवादी बेलायतमा

डिसी नेपाल
२९ मंसिर २०७७ ११:००
4.4k
Shares

काठमाडौं। युरोपमा ओसामा बिन लादेनका प्रवक्ता मानिने आतंकवादी आदिल अब्दुल बारी बेलायत पुगेका छन् । उनलाई अमेरिकाको जेलबाट रिहा गरिएको थियो । यसअघि उनी अमेरिकाको न्यूजर्सी जेलमा थिए । आदिललाई पूर्वी अफ्रिकामा रहेको अमेरिकी दूतावासमा बम विष्फोट गराएको आरोपमा दोषी ठहर गरी २५ वर्षको जेल सजाय सुनाइएको थियो । यो विष्फोट अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा आक्रमण हुनुभन्दा पहिले अमेरिकामाथि सबैभन्दा ठूलो आतंकवादी आक्रमण मानिन्थ्यो ।

बीबीसीका अनुसार न्यूयोर्कका एक बरिष्ठ न्यायाधीशले आदिलको बढ्दो तौलका कारण उनलाई कोरोनाभाइरसबो गम्भीर खतरा भएको ठहर गरेर उनलाई डिपोर्ट गर्न आदेश दिएका थिए । यससँगै उनलाई जेलबाट रिहा गरी बेलायत डिपोर्ट गरिएको थियो । आदिल इजिप्टका नागरिक हुन् । तर, उनले १९९१ मा अमेरिकाबाट बेलायत हुँदै इजिप्ट फर्किने क्रममा बेलायतमा राजनैतिक शरणको लागि आवेदन दिएका थिए । त्यो आवेदन बेलायतको संसदले बहुमतले स्वीकार गरेपछि उनले बेलायतमा बस्न अनुमति पाएका थिर्ए । यही अनुमति अनुसार अहिले पनि उनलाई बेलायत डिपोर्ट गरिएको हो ।

सन् १९९८ मा अल कायदाका शक्तिशाली बम बोकेका दुई ट्रक तान्जानिया र केन्यामा रहेका दुई अमेरिकी दूतावासमा गएर ठोक्किएर विष्फोट भएका थिए । यी विष्फोटमा २ सय २४ जना मारिएका थिए । यो घटनापछि आदिलले युरोपमा अल कायदाको प्रवक्ताको हैसियतमा यी दुई विष्फोट अल कायदाले गराएको पत्रकारहरुलाई बताएका थिए । आदिलका ६ सन्तान छन् जसमध्ये एक छोरा आइएसआइएसका आतंकवादी हुन् ।

सन् १९९९ मा स्कटल्याण्ड यार्डका गुप्तचरहरुले आदिललाई पूर्वी अफ्रिकाका दूतावासमा भएका आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका थिए । आदिलले अदालतमा आफू आक्रमणको षड्यन्त्रमा संलग्न रहेको स्वीकार गरेका थिए । त्यसपछि उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१२ मा उनलाई अमेरिकालाई प्रत्यार्पण गरिएको थियो । उनले २५ वर्षको जेल सजायमध्ये २१ वर्षको सजाय पूरा गरिसकेका थिए ।

आदिलका वकिलले अब उनले आफ्नो परिवारसँग बेलायतमा शान्तिपूर्वक बाँकी जीवन बिताउन चाहेको बताएका छन् । यी आतंकवादी पुनः बेलायत आएपछि उनीविरुद्ध प्रदर्शन पनि हुन सक्ने आशंका गरिएको छ । एक सुरक्षा स्रोतले यस विषयमा कुरा गर्दै यी आतंकवादी बेलायत आउनु गृह सुरक्षाका लागि ठूलो टाउको दुखाइ बन्न सक्ने बताएको छ । बेलायतको इन्टेलिजेन्स र पुलिसले पनि आदिलका गतिविधिमाथि निगरानी गरिरहन सक्ने मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.