कोरोनाभाइरसका कारण देशका बहालवाला प्रधानमन्त्रीको मृत्यु भएको पहिलो घटना

डिसी नेपाल
२९ मंसिर २०७७ १२:०५
740
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीले अहिलेसम्म विश्वभर १६ लाख १८ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ । कैयौं देशका उच्च पदमा रहेका व्यक्तिहरुको समेत यसका कारण मृत्यु भएको छ । कोरोनाभाइरसका कारण एक देशका बहालवाला प्रधानमन्त्रीको समेत मृत्यु भएको छ । कुनै पनि देशका बहालवाला प्रधानमन्त्रीको यो भाइरसमा कारण मृत्यु भएको यो पहिलो घटना हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अफ्रिकी देश इस्वातिनी (जसलाई पहिले स्वाजिल्याण्ड भनिन्थ्यो) का प्रधानमन्त्रीको मृत्यु भएको हो ।

इस्वातिनीका प्रधानमन्त्री एम्ब्रोसे दलामिनीको कोरोनाभाइरसका कारण मृत्यु भएको हो । उनी संक्रमित भएको ४ हप्ताअघि पुष्टि भएको थियो । छिमेकी देश दक्षिण अफ्रिकामा अस्पतालमा उपचारको क्रममा ५२ वर्षका दलामिनीको मृत्यु भएको हो । आइतबार बेलुका इस्वातिनी सरकारले यसको जानकारी दिएको हो । आइतबार उपप्रधानमन्त्री थेम्बा मासुकुले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको मृत्यु भएको राजाको आदेशअनुसार आफूले देशलाई जानकारी गराएको बताएका छन् ।

दलामिनीलाई १ डिसेम्बरमा दक्षिण अफ्रिकाको अस्पतालमा सारिएको थियो । उपप्रधानमन्त्री मासुकुका अनुसार त्यतिबेला दलामिनीको अवस्था स्थिर थियो र उपचारप्रति उनको शरीरले राम्रो प्रतिक्रिया दिइरहेको थियो । दलामिनी २०१८ को नोभेम्बरमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले १८ वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेका थिए । उनी इस्वातिनी नेडबैंक लिमिटेडका प्रबन्ध निर्देशक पनि भएका थिए । करिब १२ लाख जनसंख्या भएको यो दक्षिण अफ्रिकी देशमा ६ हजार ७ सयभन्दा बढी संक्रमित भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.