सुन बटुल्न २ हजार गाउँलेको दौडादौड, आफ्नो क्षेत्र कुर्न बालुवामै बास !
काठमाडौं। बिहानै शौचालय गएका एक एक युवकको भाग्य त्यतिबेला चम्कियो जब उनले बालुवामा केही चम्किलो वस्तु देखे । त्यो बिहान उनको जीवनमा आशाको नयाँ किरण लिएर आएको थियो । भेनेजुएलाको गुआका गाउँको झुपडीमा बस्ने र माछा मार्ने काम गर्ने योलमेन लरेस नामका ती युवकले बालुवामा देखिएको त्यो चम्किलो बस्तु निकालेर हेर्दा त्यो भर्जिन मेरीको छवि भएको स्वर्णपदक थियो ।
यो कुरा पूरै समुद्रतटमा रहेको बस्तीमा फैलियो । त्यसपछि त्यहाँका बासिन्दाहरु सुन खोज्नका लागि समुद्रकिनारतिर दौडिए । गुआका गाउँमा अधिकांश माझीहरु माछा समात्ने र त्यसलाई प्याक गर्ने उपकरण लिएर समुद्रकिनारमा बालुवामा सुन पाउनका लागि उत्खनन गर्न थाले । गाउँलेहरुलाई फेरि चमत्कार हुन्छ र सुन पाइन्छ भन्ने लागेको थियो । २ हजार जनसंख्या भएको यो गाउँका अधिकांश बासिन्दा यो खजानाको खोजीमा लागे । उनीहरुले पानीभित्र पनि सुन खोजी गर्न थाले ।
स्थिति यहाँसम्म पुग्यो कि समुद्रकिनारमा आफ्नो केही बर्गफुट क्षेत्रको रक्षा गर्नका लागि उनीहरु त्यहीँ सुत्न थालेका थिए । उनीहरुलाई बालुवाको आफ्नो भागको क्षेत्रमा कुनै न कुनै रुपमा सुन भेटिने आशा थियो । न्यूयोर्क टाइम्सका अनुसार दर्जनौं गाउँलेहरुले कम्तीमा एउटा सुनको वस्तु भेटेको दावी गरेका छन् । अधिकांशले सुनको औंठी भेटेको बताएका छन् । रिपोर्टका अनुसार गाउँलेहरुले ती गहनाहरुलाई एउटाको बढीमा १५ सय डलर (१ लाख ७७ हजार रुपैयाँ) सम्ममा बेचेका छन् ।
सबैभन्दा पहिले सुन भेटेका २५ वर्षका लरेसले भने ‘सुन देखेर म हल्लिन लागेको थिएँ । म खुसीले रोएँ । यो पहिलो पटक थियो जब मसँग केही खास भएको थियो ।’ घर आएर लरेसले आफ्ना ससुरालाई यसको जानकारी दिएपछि यो खबर पूरै बस्तीमा फैलियो । लगत्ते गाउँका २ हजार निवासी खजाना खोज्न सक्रिय भए । लरेसले पहिलो पटक सुन सेप्टेम्बरमा भेटेका थिए । त्यसपछि अहिलेसम्म पनि यहाँ सुन खोज्ने क्रम जारी छ । तर, यो खजाना कहाँबाट त्यहाँ आयो भन्ने थाहा हुन सकेको छैन ।







डिसी नेपाल








Facebook Comment