चीनमा ब्लूमबर्गका पत्रकार पक्राउ, हस्तक्षेप नगर्न अरू देशलाई चेतावनी
चीनले बीबीसी । समाचारसंस्था ब्लूमबर्गका लागि काम गर्ने एक पत्रकारलाई पक्राउ गर्नु आफ्नो “आन्तरिक मामिला” भएको दाबी गर्दै त्यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। ती पत्रकार चिनियाँ नागरिक हुन् र उनको नाम हेज फान हो। उनलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोपमा गत साता पक्राउ गरिएको थियो।
उक्त घटना चिनियाँ सरकारले पत्रकारलाई पक्राउ गर्ने वा देशनिकाला गर्ने शृङ्खलामा पछिल्लो हो। युरोपियन युनियन (ईयू) ले समाचारसँग सम्बन्धित विषयमा पक्राउ परेका सबै पत्रकारलाई मुक्त गर्न चीन सरकारलाई आह्वान गरेको छ।
शनिवार एउटा विज्ञप्ति प्रकाशित गर्दै ईयूले चिनियाँ अधिकारीहरूले आवश्यक परे फानलाई औषधोपचार तथा तत्काल उनले रोजेअनुसार वकिल उपलब्ध गराऊन् र परिवारजनसँग सम्पर्क गर्न दिऊन् भन्ने आफूले चाहेको बताएको छ। चीनस्थित विदेशी संवाददाताहरूको समूह एफसीसीसीले पनि उनीप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
के भन्छ चीन?
तर ईयूका लागि चीनको दूतावासले फान “चीनको सुरक्षालाई खतरामा पार्ने आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का भएको” दाबी गर्दै उनलाई कानुनबमोजिम नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ।
आफ्नो आधिकारिक वीच्याट अकाउन्टमा दूतावासले उक्त मुद्दाबारे वैधानिक रूपमा छानबिन भइरहेको र फानले पाउने अधिकार सुनिश्चित गरिएको जनाएको छ। “यो पूर्णतः चीनको आन्तरिक मामिला हो। अनि कुनै देश वा संस्थालाई हस्तक्षेप गर्ने अधिकार छैन।”
को हुन् पक्राउ पर्ने पत्रकार?
फान सन् २०१७ देखि ब्लूमबर्गसँग आबद्ध छिन्। त्यसअघि उनले समाचारसंस्था रोएटर्स, सीएनबीसी, अल जजीरा र सीबीएस न्यूजका लागि काम गरेकी थिइन्।
डिसेम्बर ७ मा सादा पोसाकमा आएका सुरक्षा अधिकारीहरूले फानलाई लिएर गएका थिए। त्यसअघि उनले आफ्ना एक सम्पादकसँग सम्पर्क गर्न भ्याएकी थिइन्।
“हामीलाई उनको चिन्ता लागेको छ। अवस्था बुझ्न हामी चिनियाँ अधिकारीहरूसँग कुरा गरिरहेका छौँ,” न्यूयोर्कमा अवस्थित ब्लूमबर्गकी एक प्रवक्ताले बताइन्। “उनलाई सहयोग गर्न तथा थप जानकारी लिन हामी यथाशक्य प्रयास गरिरहेका छौँ।”
यसअघि के भएको थियो?
यो वर्ष चिनियाँ सरकारको कोपभाजनमा अरू पत्रकारहरू पनि परेका थिए। यो वर्षको आरम्भतिर चीनले तीनवटा अमेरिकी समाचारपत्रका पत्रकारलाई देशनिकाला गरेको थियो। त्यसबाहेक अमेरिकासँग सम्बन्ध चिसिँदा चीनले न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट तथा वाल स्ट्रीट जर्नलका संवाददातालाई दिइएको ‘पास’ फिर्ता गर्न भनेको थियो।
सरकारी प्रसारक सीजीटीएनमा कार्यरत चिनियाँ मूल तर अस्ट्रेलियाली नागरिकता भएका एक पत्रकारलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अगस्टमा पक्राउ गरिएको थियो। सेप्टेम्बरमा चीनको सुरक्षा मन्त्रालयले सोधपुछ गरेपछि दुई अस्ट्रेलियाली संवाददाताहरूले पनि आकस्मिक रूपमा चीन छोडेका थिए।
हङ्कङमा प्रजातन्त्रवादी सञ्चारउद्यमी जिमी लाईलाई पनि उक्त क्षेत्रमा लागु गरिएको एउटा विवादास्पद कानुनअन्तर्गत राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै मुद्दा चलाइएको छ।







डिसी नेपाल








Facebook Comment