बोस्निया विभाजनको प्रतीक मोस्टारमा १२ वर्षपछि चुनाव
मोस्टार। (एएफपी)। नीना पोपोभिक एक दशकपछि पहिलो पटक मतदान गर्न योग्य भएकी छन् तर उनी आफ्नो बोस्नियाली गृह नगर मोस्टारमा कुनै नेतृत्वका लागि प्रतिस्पर्धामा छैनिन्। यो शहरमा १२ वर्षपछि पहिलो पटक आइतबार स्थानीय तहका लागि चुनाव हुँदैछ।
बोस्निया युद्ध समाप्त गर्ने डेटन शान्ति सम्झौतामा हस्ताक्षर भएको पच्चीस वर्षपछि पनि मोस्टार शहर साम्प्रदायिक विभाजन र राजनीतिक अस्थिरताको प्रतीक बनिरह्यो। बाल्कन राज्य बोस्निया हर्जगोभिनालाई यस शहरभित्रको अस्थिरताले सताइरहेको थियो।
यस शहरमा मुख्यरुपमा क्याथोलिक सम्प्रदायका क्रोएसियाली र मुस्लिम बोस्नियाकहरुको बसोबास छ। शहरमा व्याप्त कानुनी असमझदारी हटाउन कुनै ठोस पहल गर्न नसकेका राष्ट्रवादी दलहरुले नै मुख्य रुपमा जनताको प्रतिनिधित्व गरिरहेका छन्।
यही कारण मोस्टारमा चुनाव गराउने प्रयत्न असफल हुँदै आएका थिए। करिब एक लाख जनसंख्या रहेको यस शहरमा दलीय असमझदारीकै कारण सन् २०१२ देखि स्थानीय परिषदको चुनाव हुन पाएको थिएन।
नाट्यकर्मी पोपोभिकले भनिन्, “ढिलाई एउटा दुःखद सत्य हो र यो गर्व गर्नलायक कुरै होइन, तर मलाई ढिलै भएपनि अब राम्रो होला भन्ने झिनो आशा छ।” मतदान गर्न पाउने अवसर जुरेका कारण आफूलाई निकै खुशी लागेको एएफपीलाई बताइन्।
डिसेम्बर १० तारिखका दिन मतदान गर्न पाउने अवसर भने राजनीतिशास्त्री इर्मा बारालिजाका कारण सम्भव भएको हो। उनी मतदान गर्न पाउने आफ्नो अधिकारका लागि अदालतमा निरन्तर मुद्दा लडेकी थिइन्।
३६ वर्षीया इर्माले मोस्टारका जनताको मताधिकार हनन भएको भन्दै युरोपेली मानवअधिकार अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। अदालतले सन् २०१९ को अक्टोबरमा इर्मा “विभेद”को शिकार भएको जनाउँदै बोस्नियाली सरकारलाई मोस्टारमा नगर निर्वाचन गराउन आदेश दिएको थियो।
निकै प्रसन्न मोस्टारमा मुद्रामा भेटिएकी बारालिजाले एएफपीसँग भनिन्, “यो फैसलाले हरेक व्यक्ति महत्वपूर्ण हुन्छन् र परिवर्तन ल्याउन सक्छन् भनेर देखायो । अब हरेक व्यक्तिले डिसेम्बर २० मा आफूले चाहेका व्यक्तिलाई छनौट गर्न पाउने छन्।”
अदालतको जितबाट उत्साहित भएकी बारालिजाले नासा स्ट्रान्का (आवर पार्टी) को नेतृत्व गरेकी छन्। यो देशकै बहु–जातीय पार्टी हो अर्थात् यस पार्टीभित्र विभिन्न जातका व्यक्तिको सहभागिता छ। सन् १९९० को दशकको युद्ध लडेका बोस्नियाली, क्रोएसियाली र सर्बियाली समुदायका व्यक्तिहरु बारालिजाको पार्टीमा आबद्ध छन्।
बोस्नियाली मुलकी बारालिजा आजभोलि शहरका सबै भागमा चुनावी प्रचारमा व्यस्त छिन्। सन् १९९२–१९९५ को अवधिमा भएको द्वन्द्व हुनुअघिकै शान्तिपूर्ण मोस्टार पुनर्जीवित तुल्याउने सपना बारालिजाको छ।
निलो नेरेट्भा नदीमाथि बनेको ओट्टोमन शैलीको भव्य पुल समेत रहेको बहुजातीय मानिसको बसोबास रहेको मोस्टार आफैंमा पूर्व युगोस्लाभियाका भव्य शहरमध्ये एक थियो।
आज यी सबै सम्पदाहरु दुई समुदायबीचको सम्पर्कलाई भत्काउन प्रयोग गरिएका छन्। यहाँ स्थानीय समुदायका लागि छुट्टाछुट्टै हुलाक कार्यालयहरु, बिजुली र पानी आपूर्तिकर्ता, टेलिकम कम्पनी, अस्पताल, राष्ट्रिय थिएटरहरु, विद्यालय, फुटबल क्लब लगायत छन्।
यस्तो प्रणालीले मुख्य राष्ट्रवादी पार्टीहरु – क्रोएसियाली समुदायको नेतृत्वमा रहेका एचडीजेड र बोस्नियाली एसडिए – लाई नै अधिक फाइदा पुगेको छ, ५० वर्षीया व्यवसायी एवं अर्को सानो दल प्लेटफर्म फर प्रोग्रेसबाट चुनावमा उठेकी अम्ना पोपोभाक बताउँछिन्।
“वास्तवमै एकीकृत शहर उनीहरुका लागि ठूलो खतरा हो,” उनले भनिन्। उनको भनाईमा मोस्टारका धेरै मानिसमा भित्रैदेखि एक किसिमले डरको शासन छ। बोस्नियाली भए पनि पोपोभाक आफैं भने क्रोएसियाली बस्तीतिर बस्छन्। युद्धका दिनहरुमा छिमेकीले कसरी आफ्नो परिवारलाई जोगाए भन्ने उनको मानसपटलमा अद्यापी ताजै छ।
उनी भन्छिन्, “ध्वस्त भवनहरुलाई त्यतिकै छाडिएको छ जसले विगतको विद्रुप अवस्थालाई अझै पनि सम्झाइरहेको छ।” मर्मत समेत नगरी राखिएका युद्धकालमा ध्वस्त बनाइएका धेरै भवनहरुले जातीय द्वन्द्वको घाउलाई सम्झाउने गरेको पोपोभाकको भनाइ छ।
यस वर्ष दुई मुख्य दलहरु – एचडिजेड र एसडिए – ले नयाँ उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेका छन् जसले शहरभित्र बढी एकताका लागि आह्वान गरिरहेका छन् । तर उनीहरुका आलोचकहरुले शंका व्यक्त गरिरहेका छन्।
मोस्टारमा कार्यरत गैरसरकारी संस्थाकी प्रमुख मारिन बागो दलहरुमा आएको परिवर्तन सुखद पक्ष रहेको बताउँछिन्। “दलहरुले अब आम शहरबासीले सामान्य जीवन चाहेको कुरा बुझ्न थालेका छन्। तर तिनीहरुमध्ये केही अर्को समुदायका कुरा सुन्न गएजस्तो लाग्दैन। यो भने खराब पक्ष हो।”
दक्षिणपन्थी क्रोएसियाली रिपब्लीकन पार्टीका प्रमुख ४१ वर्षीय स्लाभेन रागुज पनि वर्षौंदेखि राष्ट्रवादीहरुका आलोचक रहेका छन्। “मोस्टार पूरै बोस्नियाको जस्तै विभाजित छ।” बोस्निया पनि विभिन्न जातीय क्षेत्रहरुमा विभाजित छ र यहाँको राजनीति भ्रष्टाचार र अव्यवस्थाबाट ग्रस्त छ।







डिसी नेपाल








Facebook Comment