संवैधानिक परिषद्को बैठकमा ढिलाइ

डिसी नेपाल
३० मंसिर २०७७ १७:२१
172
Shares

काठमाडौं। मंगलबार साँझ पाँच बजेका लागि बोलाइएको संवैधानिक परिषदको बैठक यतिबेलासम्म शुरु हुन सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक सवा पाँच बजेसम्म शुरु नभएको हो।

बालुवाटार निकट स्रोतले बैठक शुरु नभएको जानकारी दियो।

यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरेकी थिइन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि राजत्रपमा प्रकाशितसमेत भइसकेको छ।

उता मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गरेको थियो।

अकस्मात अध्यादेश ल्याइएपछि नेपाली राजनीति नै तरंगित बनेको छ। सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले अध्यादेशको विरोध गरेका छन्।

सत्तारुढ दल नेकपामा चर्केको विवादको छायाँ संवैधानिक परिषदमा परेको हो। सभामुख सापकोटा प्रचण्ड निकट हुन्। त्यसैले उनी मंगलबार बिहानको बैठकमा गएनन्। उनी बैठकमा नआएपछि बिहान बैठक स्थगित भएको थियो।

त्यसपछि प्रधानमन्त्री ओलीले बुहमतबाट पनि निर्णय गर्न सकिने व्यवस्था गर्न अध्यादेशमार्फत ऐन नै संशोधन गरेर पाँच बजेका लागि बैठक बोलाएका थिए। तर, यो समाचार तयार पार्दासम्म बैठक बसेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.