विश्वकप क्रिकेट २०२३ को छनोट तालिका सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकप क्रिकेट २०२३ को छनोट तालिका सार्वजनिक गरेको छ । कोरोना महामारीले छनोट खेलहरु स्थगित भएको थियो । आईसीसीको बोर्ड बैठकले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपका लागि छनोट तालिकासहितको मार्गचित्र तय गरेको हो । आईसीसीले तय गरेको नयाँ मार्गचित्र बमोजिम तीन वटा लिगहरु खेलाइनेछन् । आईसीसी सुपर लिग, आईसीसी लिग २ र च्यालेन्ज कप हुनेछन् ।
आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टोली सहभागी हुनेछन् । सुपर लिगको शिर्ष आठ टोली विश्वकपका लागि छनोट हुनेछ । पूछारका पाँच टोलीले छनोट खेल्नुपर्नेछ । छनोटमा कुल १० टोली खेल्नेमध्ये सुपर लिगका पाँच, लिग २ का तीन र प्ले अफका दुई टोली सहभागी हुनेछन् । आईसीसीका अनुसार विश्वकप छनोटका खेलहरु जिम्बाबवेमा १८ जुनदेखि ९ जुलाई २०२३ सम्म खेलाइनेछ । त्यसअघि विश्वकप क्रिकेट लिग दुईका एकदिवसीय खेलहरु १९ मार्च २०२१ मा नै सुरु हुनेछ । लिग २ को छैठौं सिरिजमा ओमानले नेपाल र अमेरिका विरुद्धको खेलको आयोजना गर्नेछ । उक्त श्रृखंलामा छ एकदिवसीय खेलहरु हुनेछ । ओमान हाल १६ अङ्कसहित तालिकाको शिर्ष स्थानमा छ । यूएई भने चार अङ्कसहित पूछारमा छ । सन् २०२१ देखि २०२२ सम्म कुल ९६ एकदिवसीय खेल हुनेछ । जसमध्ये दुई खेल सन् २०२३ को सुरुवातमा खेलाइनेछ । आईसीसी लिग २ मा एकदिवसीय मान्यता पाएका कुल सात टोलीले खेल्नेछन् । ओमान, अमेरिका, स्कटल्याण्ड, नामीबिया, यूएई, नेपाल र पपुवान्यूगिनी रहेका छन् ।








डिसी नेपाल








Facebook Comment