श्रीलंकाबाट एमसीसी फिर्ता
काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ । डिसेम्बर १५ मा वाशिङटनमा बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले प्रस्तावित ४८० मिलियनको कार्यक्रम श्रीलंकासँग अगाडि नबढाउने निर्णय गरेको कोलम्बो पेजले जनाएको छ । अप्रिल २०१९ मा एमसीसीले श्रीलंकालाई ४८० मिलियन डलर अनुदान दिने निर्णय गरेको थियो । तर, श्रीलंका सरकारले यो सम्झौतामा हस्ताक्षर नगरेपछि कार्यक्रम अगाडि बढ्न सकेन ।
एमसीसीको ४८० मिलियन डलर सहयोग श्रीलंकामा सडक यातायातको सुधार र देशभरी भूमि व्यवस्थापनको लागि खर्च गर्ने प्रस्ताव गरिएको थियो । अघिल्लो श्रीलंकाली सरकारले यो सम्झौतालाई प्रारम्भिक स्वीकृति दिएको थियो । तत्कालीन सरकार एमसीसीप्रति सकारात्मक थियो । तर, २०१९ मा भएको निर्वाचनबाट नयाँ सरकार सत्तामा आएपछि भने यो सरकार एमसीसीप्रति सकारात्मक देखिएन ।
अघिल्लो वर्ष यो सम्झौतामाथि तीब्र राजनीतिकरण भएको थियो र गएको जनवरीमा सरकारले यो सम्झौताबारे विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेको थियो । कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललितसिरी गुणरुवानको नेतृत्वमा गठित यो समितिले सरकारलाई एमसीसी सम्झौता निःशर्त अस्वीकृत गर्न सुझाव दिएपछि यही सुझावअनुसार सरकारले सम्झौता अस्वीकृत गरेको हो ।
एमसीसी बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको वक्तव्यमा नयाँ देशहरुलाई एमसीसी सम्झौताको लागि योग्य देशको रुपमा छानिएको छ । एमसीसी बोर्डले सर्वसम्मतिले सिएरा लियोनलाई एमसीसी सम्झौताको लागि नयाँ देशको रुपमा छानेको छ । बैठकले सानो टापु देश किरीबाटीलाई पनि एमसीसी थ्रेसहोल्ड कार्यक्रमका लागि सर्वसम्मतिले छानेको छ । थ्रेसहोल्ड सानो परिमाणमा अनुदान दिइने कार्यक्रम हो ।







डिसी नेपाल







Facebook Comment