बाहुबलीको तेस्रो भागको पूरा भइसकेको सुटिङ पूरै रद्द
काठमाडौं। ब्लकबस्टर भारतीय सिनेमा बाहुबली सिरिजको तेस्रो भागको पूरा भइसकेको सुटिङ पूरै रद्द गरिएको छ । २०१८ मा चर्चित वेब प्लेटफर्म नेटफ्लिक्सले ‘बाहुबली – बिफोर द बिगिनिङ’ नामबाट वेब सिरिजको घोषणा गरेको थियो । बाहुबली फिल्म सिरिजको विक्वेलको रुपमा बन्ने यो वेब सिरिजमा राजमाता शिवगामी देवीको यात्रालाई विषयवस्तु बनाइने भनिएको थियो । एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबलीमा राजमाता शिवगामी देवीको भूमिका रम्या कृष्णनले निभाएकी थिइन् ।
नेटफ्लिक्सले बाहुबलीको प्रिक्वेल बनाउनको लागि आर्का मिडिया वर्क्स र एसएस राजामौलीसहित बाहुबली टिमसँग सहकार्य गरेको थियो । देव कट्टा र प्रविण सतारुले यसको निर्देशन गर्ने भनिएको थियो । तर, यो पूरै प्रोजेक्टको अहिलेसम्म भएको सबै काम रद्द भएको छ र अब यो प्रोजेक्टमा पूरै नयाँ टिम र नयाँ कथामा फेरि सुरुबाट काम गरिने भएको छ । बलिउड हंगामाले एक ट्याब्लोइडलाई उद्धृत गर्दै लेखेअनुसार पूरै काम सकेर तयार भएको फिल्म अपेक्षा गरेअनुसारको नभएपछि नेटफ्लिक्सले यसलाई रद्द गरेको हो ।
अब यो प्रोजेक्टको लागि नयाँ क्रिएटिभ टिम ल्याइएको छ जसले यो सिरिजलाई पुनः नयाँ अवधारणामा तयार गर्नेछन् । यो फिल्मको कथा पुनर्लेखन भइरहेको छ । रिपोर्टअनुसार अब यो प्रोजेक्टको निर्देशन विश्वेश कृष्णमूर्तिले गर्नेछन् । उनले यसअघि एआर रहमानका ९९ गीतको भिडियो निर्देशन गरिसकेका छन् । एसएस राजामौलीको सुपरिवेक्षणमा कृष्णामूर्तिले यो प्रोजेक्टको निर्देशन गर्नेछन् । यसका लागि नयाँ कलाकारहरुको छनोट भइरहेको छ ।
यसअघि सुटिङ गरिसकिएको प्रोजेक्टमा मृणाल ठाकुर, अनुप सोनी, राहुल बोस मुख्य भूमिकामा थिए जसले २०१९ मै सुटिङ पूरा गरिसकेका थिए । अब बन्ने नयाँ सिरिजका २ सिजन हुने अनुमान गरिएको छ । सिजन १ मा ९ भाग हुनेछन् र यो आनन्द नीलकान्तनको किताब ‘द राइज अफ शिवगामी’मा आधारित हुनेछ । यसमा रानी शिवगामीको विद्रोही र बदलामुखी युवतीबाट बुद्धिमान र अतुलनीय रानीसम्मको यात्रा तथा माहिष्मती साम्राज्यको उदय देखाइनेछ । यो सिरिज अहिले प्रि–प्रोडक्सनमा छ र अप्रिलदेखि फ्लोरमा जाने बताइएको छ ।







डिसी नेपाल








Facebook Comment