नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्यो भारत
काठमाडौं। नेपालको पछिल्लो राजनीतिक घटनक्रमबारे भारतले मुख खोलेको छ। बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको औपचारिक धारणा राखेका हुन्।
भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘नोट’ गरेको बताएको छ। प्रवक्ता श्रीवास्तावले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम भारतले नोट गरेको भन्दै नेपाल आफैले लोकतान्त्रिक विधिअनुसार आश्यक निर्णय गर्ने बताएका थिए।
नेपालमा संसद् विघटन भएको ५ दिनपछि दक्षिणी छिमेकीको प्रतिक्रिया आएको हो। प्रवक्ता श्रीवास्तावले निकट छिमेकी हुनुका नाताले भारतको नेपाललाई सँधै सहयोग रहने बताएका थिए।
नक्सा विवादपछि नेपाल र भारतबीच आपसी सम्बन्धमा आएको चिसोपना पछिल्ला दिनहरुमा घट्दै गएका छन्। खास गरी भारतीय गुप्तचर एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल, थलसेना प्रमुख जनरल मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणपछि दुईदेशबीच सम्बन्धमा सुधार भइरहेको छ।
तर, सत्तारुढ दल नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरिदिएपछि अहिले नेपालमा अनपेक्षित राजनीतिक घटनाक्रम विकास भइरहेका छन्। भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख गोयलको नेपाल भ्रमणपछि सत्तारुढ दल नेकपामा किचलो बढेको थियो। जसले नेकपा विभाजनसम्म भएको छ भने सरकारले संसद् विघटन गरिदिएको छ।







डिसी नेपाल








Facebook Comment