मङ्सिरमा मात्रै १३९ लैङ्गिक विभेदका घटना
काठमाडौं । गत महिनामा मात्र मुलुकभर १३९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घट्ना भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले मङ्सिरमा आफ्नो कार्यालयमा १११ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त समाचारअनुसार २८ गरी १३९ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन भएको जनाएको छ ।
यस अवधिमा महिलामाथि ६५ घरेलु हिंसाका घट्ना, ३० सामाजिक हिंसा, २४ बलात्कार, छ यौन दुव्र्यवहार, नौ हत्या सम्बन्धी घटनाका विवरण सङ्कलन भएको ओरेकको ‘महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन, मङ्सिर २०७७’ मा उल्लेख छ । यसैगरी चार बलात्कारको प्रयास र एक आत्महत्या घट्नाको तथ्याङ्क सङ्कलन भएको छ ।
उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ४८ जना १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिला बढी हिंसाको जोखिममा रहेको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । त्यस्तै प्रभावित र आरोपितको सम्बन्ध हेर्दा सबैभन्दा बढी ५६ हिंसा श्रीमान्बाट भएको छ भने ३१ छिमेकीबाट, २२ परिवारका सदस्यबाट, १८ प्रेमीबाट, पाँच अपरिचित व्यक्तिबाट, दुई सेवा प्रदायकबाट, दुई शिक्षकबाट, दुई साथीबाट, एक हिंसाका घट्ना अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाइएको छ । महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी समानता मात्र पर्याप्त नहुने बताउँदै उनले विभेद र हिंसालाई प्रोत्साहन गर्ने सोच, दृष्टिकोण र व्यवहार साथै समाजले बनाएको लैङ्गिक पहिचान र भूमिका परिवर्तन गर्ने अभियान र नीतिगत व्यवस्थाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।







डिसी नेपाल








Facebook Comment