गएको वैशाखमा महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध फेसबुकमा स्टाटस लेख्ने चन्द पक्राउ, काँग्रेसको विरोध

डिसी नेपाल
१६ पुष २०७७ १८:४२
2.0k
Shares

काठमाडौं। गएको वैशाखमा तत्कालिन संघीय समाजवादी पार्टीका एक सांसदलाई नेकपा नेता महेश बस्नेत र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी विभाजनका लागि अपहरण गरेको अरोप लाग्यो। त्यसपछि बस्नेत र खनालको चौतर्फी आलोचना भयो। सामाजिक सञ्जालमा पनि उनीहरुविरुद्धका स्टाटसहरु लेखिए।

त्यतिबेला लेखेको स्टाटसमाथि नेपाल प्रहरीले अहिले कारबाही थालेको छ। त्यतिबेला स्टाटस लेखेको आरोपमा बुधबार बाँकेको नेपालगञ्जबाट एकजनालाई पक्राउ गरेर बिहीबार काठमाडौं ल्याइएको छ। बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले विद्युतीय कारोबार ऐन लगाएर पक्राउ गरेको हो।

चन्दलाई पक्राउ गरेकोमा नेपाली काँग्रेसले विरोध जनाएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहा गर्न चेतावनी दिएका छन्।

विज्ञप्तिः

नेपाली कांग्रेसका सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौ ल्याइएको घटनाको निन्दा गर्दै नेपाली कांग्रेस निजलाई तत्काल रिहाई गर्न माग गर्दछ ।

कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ। तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो ।

पूर्व प्रहरी समेत रहेका चन्द स्थानीय एक निजि क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका छन्। सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बाँचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय छ। नेपाली कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.