पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

डिसी नेपाल
२० पुष २०७७ ७:१०
368
Shares

बीबीसी। पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।

ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्। शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन्।

प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई “अमानवीय आतङ्ककारी कार्य” भन्दै निन्दा गरेका छन्। त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो।

उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब क्षेत्र हो। हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरेका थिए र नजिकैको पहाडमा लगेका थिए।

६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ।

बीबीसी सम्वाददाता सिकन्दर केर्मानीका अनुसार एउटा भिडिओमा पीडितहरूको शव क्षतविक्षत अवस्थामा देखिएको छ भने उनीहरूको हात बाँधिएको छ।

न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन्। अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन्। सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.