भारतमा निर्मित फाउन्टेन पेनप्रति किन मोहित हुन्छन् मानिसहरु ?
बीबीसी । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क महानगरमा बस्ने उपन्यासकार अमिताभ घोषले भारतका एक कलाकारसँग एउटा फाउन्टेन कलम हालसालै मगाएका छन्।
“मैले उनको अनलाइन सूची हेरेको थिएँ जसअनुसार माग गरेको ९५ हप्ताभित्र कलम आपूर्ति हुने थाहा भयो,” भारतीय मूलका यी लेखकले हालै मसित भने। घोष आफू बसेको ठाउँदेखि करिब १२,५००० किलोमिटर टाढा पर्ने भारतको पश्चिमी पुणेबाट आइपुग्ने कलमको प्रतीक्षामा छन्।
यहाँस्थित सानो आवासमा एउटा सानो लेथ मशीनमा काम गरिरहेका मनोज देशमुखले बनाउने उच्च गुणस्तरको हस्तनिर्मित फाउन्टेन कलमहरू विश्वभरि विक्री हुँदै आएका छन्। उनीसँग कोही कामदार छैन। एउटा कलम बनाउन एकदेखि चार दिनसम्म लाग्छ र आफ्ना कलमहरू ‘फस्फोर’ ब्र्यान्ड नाम राखेर विक्री गर्ने गरेको उनी बताउँछन्।
देशमुखले दुई दशकदेखि गर्दै आएको सफ्टवेअर इन्जिनियरको काम छ वर्षअघि छोडेर आफ्नो सुत्ने कोठाबाट सोखको रूपमा कलम बनाउन थालेका थिए। पहिलापहिला बनाइएका कलममध्ये एउटामा गुलाबको डाँठ प्रयोग गरिएको थियो। यूट्यूबमा उपलब्ध भिडिओ हेरेर उनले कलम बनाउन सिकेका थिए।
कलमका पारखीहरूसम्म आफ्नो उत्पादन पुर्याउन उनले अनलाइनको प्रयोग गरे र विदेशका एउटा ग्राहकबाट उनले ७० अमेरिकी डलर पाए। अहिले देशमुखले बनाएको कलम पाउनका लागि दुई वर्षसम्म कुर्नुपर्छ।

उनले बनाउने १० किसिमका विभिन्न रङ्गका कलमहरू प्रतिगोटा ७० देखि १६० अमेरिकी डलर पर्छ। “कलम बनाउने कुरामा ममा निकै उत्साह आउँछ,” उनले भने। फस्फोर भारतमा कलात्मक रूपमा बनाइने सीमित कलमका ब्र्यान्डमा पर्छ जसले विश्वभरिबाट पारखीहरूलाई मोहित पारिरहेको छ।
केही समयअघि मात्रै त्यस्ता कलम खरिद गर्नका लागि तपाईँ निर्माताकै ठाउँसम्म पुग्नुपर्थ्यो। त्यसपछि उनीहरूले ईबे र एमजनमार्फत् अनलाइन विक्री गर्न थाले। अहिले उनीहरू आकर्षक वेबसाइटहरूमार्फत् अर्डर लिन्छन्।
“कलात्मक कलमहरूको स्रोत र बजारको रूपमा भारत तीव्र गतिमा उदाइरहेको छ। विश्वले पनि हामीबारे थाहा पाइरहेको छ,” तमिलनाडुको तिरुभल्लुरस्थित ५० वर्ष पुरानो राङ्गा पेन्सका मालिक एमपी कन्दन भन्छन्। भारतीय हस्तनिर्मित कलात्मक कलमहरूले मूल्य र रूपका कारण पारखीहरूलाई मोहित पारिरहेका छन्।
अधिकांश कलमहरू हातले रङ्ग्याइन्छन् र तिनमा स्थानीय कलाको प्रयोग हुन्छ। निब र मसी हाल्ने नली चाहिँ विदेशबाट आयात गरिन्छ। चिकित्सक, वकिल, राजनीतिज्ञ तथा लेखकहरू ती कलमका मुख्य ग्राहक हुन्। त्यसमा अधिकांश पुरुष हुन्छन्।
युसुफ मन्सूरजस्ता निकै लगाव भएका सङ्ग्रहकर्ता पनि छन्। पूर्वी सहर पटनाका अवकाशप्राप्त भूगर्भशास्त्री मन्सूरसँग ७,००० वटाभन्दा बढी फाउन्टेन कलम छन्। “कलात्मक कलमहरू संवादको आरम्भ गर्ने खालका हुन्छन्। तपाईँले गोजीमा राख्दा तिनले आकर्षित गर्छन्। कलात्मक कलमहरू पुरुषका आभूषणजस्तै हुन्,” मन्सूरले भने।
लक्ष्मण राव कलम बनाउने एउटा परिवारको दोस्रो पुस्ताका व्यक्ति हुन्। उनको परिवारले आन्ध्र प्रदेशको एउटा नदीनजिकै रहेको कार्यशालाबाट ८० वर्षदेखि कलम बनाउँदै आएको छ। उनीकहाँ ३०० वटा मोडलका कलम बनाइन्छ र प्रतिगोटाको मूल्य पाँच अमेरिकी डलरदेखि ६८० डलरसम्म पर्छ।
तीमध्ये दूधजस्तो सेतो रङ्गको सबैभन्दा लामो र गह्रुँगो एउटा मोडलको ६५ डलर पर्ने राव बताउँछन्। “त्यो निकै लामो भएर मानिसहरू मोहित हुन्छन्,” उनले भने। न्यूयोर्कमा बस्ने लेखक पिट्चाया सुद्बान्थड भारतमा बनेका आधा दर्जनजति कलम प्रयोग गर्छन्। उनी भन्छन्, “हरेक कलमसँग आफ्नै खालको अनुभूति हुन्छ।”
ती कलमहरू भरपर्दा र टन्नै मसी अट्ने खालका हुने गरेको पनि उनी बताउँछन्। कलमको प्रयोगलाई लिएर ६४ वर्षीय उपन्यासकार अमिताभ घोषको पनि आफ्नै खालको अनुभूति छ। कलमले लेख्ने आनन्द कहिल्यै मर्दैन। भावनात्मक रूपमा केही कलमसँग घोषको बेग्लै लगाव छ। “खासमा ती प्रत्येक कलमबाट मैले लाखौँ शब्द लेखेको छु,” उनी भन्छन्।







डिसी नेपाल








Facebook Comment