कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

डिसी नेपाल
२१ पुष २०७७ १०:४१
360
Shares

बीबीसी। साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ। साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

मंगलबार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो। एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए। यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए।

सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतंकवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ। साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन्।

केही अघिसम्म कुवेती मध्यस्थता खासै परिणाममुखी देखिएको थिएन। तर विगत केही महिनाहरूमा सुरक्षित अवतरण हुने खालका समाधानका बाटाहरू खोजिँदै गरेको सङ्केतहरू पाइएको बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर बताउँछन्।

यो सहमति गराउन अमेरिकी प्रशासनले धेरै देखिनेगरी भूमिका निर्वाह गरेको छ। कतारका इमिर तमिम बिन हमाद अल थानीले मङ्गलवारको सम्मेलनमा जानका लागि साउदी राजा सल्मानको निम्ता स्वीकारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.