कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बीबी वारियर्सलाई

डिसी नेपाल
२५ पुष २०७७ १६:४३
176
Shares

काठमाडौं। शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बीबी वारियर्स नेपालगन्जले जितेको छ।

बी एण्ड बी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बीबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा गर्यो।

खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बीबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। वारियर्सका लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए। कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय सहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसका लागि सन्दीप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेरबहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। बीबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २–२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बीबी वारियर्सका अमर सिंह रौटेला चुनिए।

उपाधि जितेको बीबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोली कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी बीबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए जसले १० हजार रुपैया पाए। यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिष्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए जसले जनही ५ हजार रुपैयाँ पाए।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री, बाँके जिल्ला क्रिकेट संघका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर मनमोहन लम्साल, बीबी साइकलका प्रोपाइटर सरिफ बागवान लगायतले पुरस्कार वितरण गरे।

पुष २० गते सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागी रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.