आफ्नै उपराष्ट्रपतिले ट्रम्पको साथ छोडे, ट्रम्पले अर्को चुनाव पनि लड्न नपाउने खतरा
काठमाडौं। अमेरिकामा सत्ता हस्तान्तरणका बेला जारी तनावका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको डेप्युटी रहेका उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको साथ छाडेका छन् । राष्ट्रपति ट्रम्पले आगामी २० जनवरीमा हुने निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताइसकेका छन् । तर, उपराष्ट्रपति माइक पेन्स भने समारोहमा सहभागी हुने भएका छन् । पेन्सले आफू समारोहमा सहभागी हुने बताएको अमेरिकी सरकारका एक बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति मायक पेन्सबीच बढिरहेको दूरीमा यो अर्को कडी थपिएको छ । यसअघि उपराष्ट्रपति पेन्सले संसदको संयुक्त बैठकको अध्यक्षता गर्दै जो बाइडेनको जीत प्रमाणीकरण गरेका थिए । ट्रम्प समर्थकले बाइडेनको प्रमाणीकरण रोक्ने प्रयासस्वरुभ गरेको आक्रमणको निन्दा गर्दै उपराष्ट्रपति पेन्सले ट्रम्पलाई कानुनी सर्वोच्चता हातमा लिन नदिने बताएका थिए ।
अहिले पेन्सले नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहणमा सहभागी हुने निर्णय गर्नुलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । किनकि अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीले भोलि राष्ट्रपति ट्रम्पलाई पदमुक्त गर्नको लागि प्रक्रिया सुरु गर्दैछ । राष्ट्रपतिलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउनको लागि उपराष्ट्रपति पनि यो कुरामा सहमत हुनुपर्छ । यदि उपराष्ट्रपति सहमत भएमा राष्ट्रपति पदमुक्त हुन सक्छन् ।
संसद बैठकबाट राष्ट्रपतिलाई पदमुक्त गरेसँगै उनलाई फेरि राष्ट्रपति पदमा आउन नपाउने गरी प्रतिबन्ध लगाउन पनि मिल्छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टिेटिभको सामान्य बहुमतले राष्ट्रपतिलाई पदमुक्त गर्ने निर्णय गरे यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जान्छ । सिनेटले यो प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरे राष्ट्रपति पदमुक्त हुन्छन् ।
सिनेटको २ तिहाइ बहुमतले राष्ट्रपतिलाई पदमुक्त गर्ने निर्णय गरेको अवस्थामा उनलाई पुनः राष्ट्रपति बन्न दिने कि नदिने भन्ने विषयमा पुनः मतदान हुन्छ र बहुमत सिनेटरले चाहेमा पदमुक्त गरिएका राष्ट्रपतिलाई फेरि राष्ट्रपति बन्न नपाउने गरी प्रतिबन्ध लगाउन मिल्छ । यसरी डोनाल्ड ट्रम्प पदमुक्त भएको अवस्थामा उपराष्ट्रपति माइक पेन्सलाई व्यक्तिगत रुपमा पनि लाभ हुन सक्ने देखिएकोले उनी र ट्रम्पबीचको दूरीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकामा अब राष्ट्रपतिको अर्को निर्वाचन २०२४ मा हुनेछ । २०२४ मा पनि रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प नै उम्मेदवार हुने सीएनएनले नोभेम्बर दोस्रो साता प्रकाशित एक रिपोर्टमा दावी गरेको थियो । २०२४ को निर्वाचनमा ट्रम्प अगाडि नआएको अवस्थामा उपराष्ट्रपति माइक पेन्स, अरकंसासका सिनेटर टम कटन, मिसौरीका सिनेटर जोश हवले, संयुक्त राष्ट्रसंघमा राजदूत रहेकी निक्की हेलीले राष्ट्रपति पदको लागि दावेदारी पेश गर्न सक्ने तर ट्रम्पले आफैं चुनाब लड्छु भनेको अवस्थामा यी सबै पछि हट्ने रिपोर्टमा दावी गरिएको थियो ।
रिपब्लिक पार्टीको सूत्रले पनि यसको पुष्टि गरेको थियो । पार्टीमा ट्रम्पका विचारलाई स्वीकार पनि गरिन्छ । ९४ प्रतिशत रिपब्लिकनले ट्रम्पले पार्टीको एजेण्डा राम्रोसँग लागू गरेको मान्छन् । कट्टरपन्थी खेमामा ९७ प्रतिशत उनको पक्षमा छन् । यसले २०२४ मा ट्रम्प चुनाब लड्न चाहेका पार्टीभित्रबाट विरोध नहुने प्रस्ट देखिन्छ । तर, ट्रम्पलाई प्रतिबन्ध लगाइएको अवस्थामा राष्ट्रपति उम्मेदवारका लागि माइक पेन्स प्रमुख दावेदार हुनेछन् । पेन्सले यो अवसर आफ्नो लाभका लागि प्रयोग गर्छन् कि गर्दैनन् भन्ने हेर्न भने बाँकी छ ।







डिसी नेपाल








Facebook Comment