युरोप–अमेरिकालाई पछि पार्दै इजरायल कोरोना जित्ने पहिलो देश बन्दै

डिसी नेपाल
२७ पुष २०७७ १५:५५
468
Shares

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल कोरोना महामारीलाई जित्ने विश्वको पहिलो देश बन्ने दावी गरेका छन् । यसअघि अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा पनि इजरायलको प्रशंशा गरिएको थियो । इजरायलमा निकै तीब्र गतिमा नागरिकलाई कोरोना भ्याक्सिन दिइँदैछ । छिटो भ्याक्सिन आपूर्ति हासिल गर्ने र नागरिकलाई भ्याक्सिन दिने विषयमा इजरायलले अमेरिका र युरोपका देशहरुलाई समेत पछि पारेको छ ।

इजरायलमा नागरिकहरुलाई फाइजरको भ्याक्सिन दिइँदैछ । इजरायलमा १९ डिसेम्बरमा कोरोना भ्याक्सिन दिने क्रम सुरु भएको थियो । भ्याक्सिनको पहिलो डोज प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लिएका थिए । पछिल्लो तथ्यांकअनुसार इजरायलमा १० जनवरीसम्म कूल जनसंख्याको २०.६१ प्रतिशतलाई भ्याक्सिन दिइसकिएको छ । अमेरिकामा अहिलेसम्म केवल २.०२ प्रतिशतलाई मात्रै भ्याक्सिन दिइएको छ ।

करिब ८९ लाख जनसंख्या भएको इजरायलले ३ हप्तामा १८ लाख नागरिकलाई भ्याक्सिन दिइसकेको छ । जबकि, नोभेम्बरको मध्यसम्म इजरायलले भ्याक्सिनको अर्डरसमेत दिएको थिएन । आइतबार भ्याक्सिनको नयाँ लट इजरायल पुगेको छ । एक अधिकारीका अनुसार आइतबार बेल्जियमबाट ७ देखि ८ लाख डोज भ्याक्सिन इजरायल आइपुगेको छ । आगामी मार्चको अन्तिमसम्म देशका १६ वर्षभन्दा माथि उमेरका सबैलाई भ्याक्सिन दिइसक्ने सरकारको योजना छ ।

नेतन्याहूले मार्चको अन्तिमभन्दा पहिल्यै सबै नागरिकले भ्याक्सिन पाउन पनि सक्ने बताएका छन् । नेतन्याहूले आफ्नो देशले फाइजर कम्पनी र विश्वसँग आफ्नो खोप अभियानको डाटा शेयर गर्ने बताएका छन् ताकि अन्य देशलाई कोरोनाविरुद्ध रणनीति बनाउन सहयोग पुगोस् । इजरायलमा २३ मार्चमा निर्वाचन हुँदैछ । सबैलाई भ्याक्सिन दिने अभियान नेतन्याहूको मुख्य चुनावी रणनीति हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.