अमेरिकाको विदेश विभागले भन्यो – ‘डोनाल्ड ट्रम्पको कार्यकाल हिजै सकियो !’
काठमाडौं। अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको वेबसाइटमा राखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पको बायोग्राफीमा ट्रम्पको कार्यकाल ११ जनवरी २०२१ मा सकिएको उल्लेख गरिएको पाइएको छ । बेलायती अखबार इन्डिपेन्डेन्टका अनुसार यो पेज कम्तीमा २ पटक सम्पादन गरिएको थियो । एक पटक राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी ११ राती ७ बजेर ४९ मिनेटमा सकिएको उल्लेख गरिएको थियो भने अर्कोपटक सम्पादन गरेर त्यो समय जनवरी ११ बेलुकी ७ बजेर २२ मिनेट १८ सेकेण्ड बनाइएको थियो ।
उपराष्ट्रपति माइक पेन्सको बायोग्राफी भएको यस्तै अर्को पेज पनि कम्तीमा २ पटक सम्पादन गरिएको थियो । सम्पादन गरेर उपराष्ट्रपतिको कार्यकाल जनवरी ११ बेलुकी ७ बजेर ४१ मिनेटमा सकिएको उल्लेख गरिएको थियो तर उपराष्ट्रपतिको नाम भने लेखिएको थिएन । दुवै पेजहरु सोमबार दिउँसो अफलाइन गरिएका थिए । इण्डिपेन्डेन्टले स्टेट डिपार्टमेन्टसँग प्रतिक्रिया मागेको छ । ह्वाइट हाउसले यो अनुरोध स्टेट डिपार्टमेन्टमा रिफर गरेको छ ।
अहिले भने स्टेट डिपार्टमेन्टको वेबसाइटमा बायोग्राफीको पेजमा जान सकिन्छ तर त्यहाँ अमेरिका पाकिस्तान महिला आयोगका सदस्यहरुको मात्र बायोग्राफी छ । राष्ट्रपति र उपराष्ट्रपतिको बायोग्राफीको लागि कुनै लिंक छैन । दुवै पेजहरु पछिल्लो २४ घण्टामा बनाइएको जस्तो देखिन्छ । ड्मोक्र्याटिक सांसदहरुले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औं संशोधन लागू गरेर राष्ट्रपतिलाई बर्खास्त गर्न दबाब दिने तयारी गरेसँगै वेबसाइटमा यस्तो सम्पादन देखिएको हो ।
बजफिड न्यूजका अनुसार स्टेट डिपार्टमेन्टमा कार्यरत एक असन्तुष्ट कर्मचारी यो सम्पादनका लागि जिम्मेवार छन् । विदेश मन्त्री माइक पोम्पियोले आन्तरिक जाँचको आदेश दिएको बताइएको छ । सोमबार तल्लो सदनका डेमोक्र्याट सांसदहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव सदनमा पेश गरेका छन् जसमाथि बुधबार मतदान हुँदैछ । रिपब्लिकन सांसदहरुले भने यसरी मतदान गरेर उपराष्ट्रपति र क्याबिनेटलाई राष्ट्रपतिलाई बर्खास्त गर्न आग्रह गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।







डिसी नेपाल








Facebook Comment