बेल्जियमको राजधानी ब्रसेल्समा हिंसात्मक प्रदर्शनः राजाको गाडीमा प्रहार, प्रहरी कार्यालयमा आगजनी

डिसी नेपाल
१ माघ २०७७ १६:५५
432
Shares

बीबीसी । प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसेल्समा सयौँ मानिसहरूले बुधवार राति हिंसात्मक प्रदर्शन गरेका छन्।

हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको गाडीमा झटारो प्रहार भएको देखिन्छ। आक्रमण हुँदा उक्त गाडी ब्रसेल्सबाट राजदरबारतिर फर्किरहेको थियो।

प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाइदिएको बताइएको छ। उनीहरूले सडकमा तोडफोड पनि गरेका थिए। प्रहरी प्रवक्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार घटनामा चार प्रहरी घाइते भएका छन् भने केही मानिसलाई पक्राउ गरिएको छ।

किन भयो उत्तेजक प्रदर्शन?

गत शनिवार प्रहरीले पक्राउ गरेका एक युवकको हिरासतमै मृत्यु भएपछि मानिसहरू आक्रोशित भएका हुन्। प्रहरीका अनुसार बुधवार ब्रसेल्स–नोर्थ प्रहरी कार्यालयनजिकै झन्डै ५०० मानिस भेला भएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा मृत्यु हुने व्यक्तिको नाम इब्राहिम बी हो। शनिवार साँझ कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको उपाय उल्लङ्घन गरेको आशङ्कामा एउटा समूहलाई रोक्ने प्रयास गर्दा ती व्यक्ति पहिला भागेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेपछि उनी अचेत भएका र उनलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीको भनाइ छ। शनिवार राति १०ः२२ बजे पक्राउ परेको एक घण्टा जतिमा नै उनको मृत्यु भएको थियो।

उनको मृत्युको कारण स्पष्ट छैन। तर त्यसबारे अनुसन्धान सुरु भएको ब्रसेल्सको सरकारी वकिलको कार्यालयले जनाएको छ। ती व्यक्तिको मृत्युबारे छानबिन हुनेपर्ने माग राख्दै प्रदर्शनकारीहरू अनुसन्धान केन्द्रस्थित प्रहरी चौकीसम्म गएका थिए। तर पछि उनीहरूको प्रदर्शन हिंसात्मक भयो।

देशका गृहमन्त्रीले बुधवारको घटनाको निन्दा गर्दै त्यो ‘अस्वीकार्य’ भएको टिप्पणी गरेका छन्। उनले सर्वसाधारणलाई शनिवारको मृत्युबारे अनुसन्धान गर्ने आश्वासन दिएका छन्। ‘हामी त्यसको अनुगमन गर्छौँ। अनि आवश्यक परेमा प्रहरीले गरेको दुर्व्यवहारको निन्दा गर्दा उपयुक्त कदम चाल्छौँ,’ उनलाई उद्धृत गर्दै ब्रसेल्स टाइम्सले लेखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.