ट्रम्प आउट बाइडेन इनः ३५ शब्दको शपथ, पहिलो पटक अमेरिकालाई अमेरिकीबाटै खतरा
आज अमेरिकाले ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेड जोसेफ आर बाइडेन जुनियर अर्थात जो बाइडेनले आज अमेरिकी राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम अमेरिकी संसद भवन क्यापिटल हिलमा बुधबार स्थानीय समयअनुसार दिउँसो १२ बजे (नेपाली समय आज राती पौने ११ बजे) हुनेछ ।
बाइडेनले केवल ३५ शब्दमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् । समारोह यसपटक पहिलेजस्तो भव्य हुने छैन । कोरोनाभाइरसका कारण भीड जुट्ने छैन । यसपटक १ हजारदेखि १२ सय मानिसहरुले शपथ ग्रहण कार्यक्रममा सहभागिता जनाउनेछन् । सबै पाहुनाको लागि कडा स्वास्थ्य प्रोटोकल लागू गरिनेछ ।
यसपटक इतिहासमै पहिलो पटक अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा अमेरिकीहरुबाटै खतरा महसुस गरिएको छ । ६ जनवरीमा इलेक्टोरल भोट गणना र घोषणा कार्यक्रममा संसद भवन क्यापिटल हिलमा भित्र र बाहिर हिंसा भएको थियो । त्यतिबेला ट्रम्प समर्थकहरुले अमेरिकी संसद भवनभित्र प्रवेश गरेर तोडफोड गरेका थिए ।
यही कारण शपथ ग्रहण कार्यक्रममा सुरक्षा एजेन्सीहरुले पुनः आक्रमण हुन सक्ने आशंकामा अधिक सुरक्षा अपनाएका छन् । यसअघि डेलीमेलले अमेरिकी संघीय जाँच एजेन्सी (एफबीआइ)लाई उद्धृत गर्दै सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै आक्रमण हुन सक्ने आशंका गरिएको बताएको थियो ।
प्रधानन्यायाधीश जोन जी रोबर्ट जुनियरले क्यापिटल हिलको वेस्ट फ्रन्टमा जो बाइडेनलाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि राष्ट्रपति बाइडेनले आफ्नो भाषण दिनेछन् । यसमा बाइडेनले अमेरिकी मतदाताहरुप्रति आभार व्यक्त गर्नेछन् । वक्तव्यपछि उनले सैन्य टुकडीको समीक्षा गर्नेछन् । गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् ।
कार्यक्रममा जेनिफर लोपेजको पनि सांगीतिक प्रस्तुती हुनेछ । त्यसपछि राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रेसिडेन्ट एस्कर्टमा क्यापिटल हिलबाट ह्वाइट हाउस जानेछन् । आम रुपमा करिब ३ लाख अमेरिकीले सडकको दुईतर्फ उभिएर राष्ट्रपति र उपराष्ट्रपतिको ह्वाइट हाउस यात्रा हेर्ने भए पनि यसपटक भने यस्तो हुने छैन ।
यसपटक शपथ ग्रहणमा डोनाल्ड ट्रम्प सहभागी हुने छैनन् । उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुनेछन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा पनि कार्यक्रममा सहभागी हुनेछन् । वाशिङटनको थिंक ट्यांक ब्रकिंग्स इन्स्टिच्युटका फेलो एलेन कामार्कका अनुसार पेन्स उपस्थिति हुनुले सबैभन्दा ठूलो महत्व राख्छ । पेन्स अमेरिकीहरुलाई यो बुझाउन चाहन्छन् कि रिपब्लिकन पार्टी केवल ट्रम्पको दायरामा सीमित छैन ।
शपथ ग्रहण कार्यक्रमको सुरक्षाका लागि २० हजार सैनिक तैनाथ गरिएका छन् । सिक्रेट सर्भिसले यसलाई जीरो फेल मिशन बताएको छ । क्यापिटल हिलमा सुरक्षाको लागि बेरिकेड र चेकप्वाइन्टहरु लगाइएका छन् । पूरै संसद भवनलाई ७ फिट अग्लो फेन्सिङले घेरिएको छ । क्यापिटल हिल नजिकका सडक बन्द गरिएका छन् ।
नेशनल पार्क सर्भिसले पर्यटकहरुका लागि वाशिङटन मोन्यूमेन्ट तत्कालको लागि बन्द गरेको छ । सिक्रेट सर्भिस र संघीय एजेन्सीका अलावा एड्भान्स्ड इलेक्ट्रोलिनक सर्भिलान्स अलर्ट मोडमा राखिएको छ । यी व्यवस्था ३० दिनसम्म जारी रहनेछन् ।







डिसी नेपाल







Facebook Comment